चिनियाँ कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले चिनियाँ ठेकेदार कम्पनीबाट सिरहा जिल्लामा अवैध उत्खनन भइरहेको भन्दै अनुगमन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले अवैध उत्खनन गर्दा स्थानीय प्रहरीले एकजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताइन् । उनले सिहारबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन रोक्नका लागि चासो नदिएको आरोप पनि लगाइन् ।
कांग्रेस सांसद चौधरीले भनिन्, ‘खुट्टी खोला आसपासका बस्तीहरू गम्भीर जोखिममा परेका छन् । कृषि कार्य गरेर जीविका चलाउने सामान्य किसानको जीवन गम्भीर रूपमा प्रभावित भएको छ ।’

‘राजमार्ग आसपास बसोबास गर्ने ठुलो जनसंख्या स्वच्छ अक्सिजन लिनबाट बञ्चित छ’, उनले अगाडि भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

मधेसको लाइफलाइन चुरे क्षेत्र भएको बताउँदै उनले डोजर लगाएर उत्खनन हुने क्षेत्रको संसदीय अनुगमनको लागि आग्रह गरिन् ।

सांसद चौधरीले भनिन्, ‘सन् २०२० देखि महेन्द्रराजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य भइरहेको छ । महेन्द्र राजमार्गको १ हजार २७ किलोमिटर सडक स्तरोन्नति गर्न चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुप भन्ने कम्पनीले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिएर ठेक्का पारेको थियो । चार वर्षदेखि निर्माण कार्य गर्दै आएको छ ।’

चौधरीले २०७९ चैत ११ गते लहान नगरपालिका दुई वर्षको लागि ठेक्का सम्झौता गरेको बताउँदै सम्झौतामा चाइना रेल्वे टुले स्काभेटर वा डोजरको प्रयोग गरी उत्खनन गर्न पाउने छैन भनेर उल्लेख गरिएको बताइन् ।

‘खुट्टी र सरायु खोलाको संगमस्थलदेखि उत्तरतर्फ विभिन्न वफर जोन नेपाल सरकारले संरक्षित क्षेत्र भनेर घोषणा गरेको छ’, उनले भनिन्, ‘त्यसमा समेत चाइना रेलवे टु कम्पनीले गैह्रकानूनी रूपमा डोजर र स्काभेटरको प्रयोग गरी उत्खनन गरेको राष्ट्रिय मिडियामा समाचार आएका छन् ।’

मधेसका अधिकांश जनताको लागि खानेपानीको मुख्यमाध्यम भनेको चापाकल नै रहेको बताउँदै उनले  उत्खननकै कारण अहिले ३ सय फिटमा पनि आउन नसकेको र चुरेको रिचार्ज सिस्टम नै ध्वस्त भइसकेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर