
काठमाडौं केन्द्र बनाएर १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँको अवैध अनलाईन जुवा


प्रहरीले काठमाडौं उपत्यकालाई केन्द्र बनाएर १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँभन्दा धेरैको अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका ५ मा रहेको घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुले बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने र खेलाउने गरेका थिए । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रमाण भेटिएको हो ।
प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाएको जनाएको छ ।
प्रतिक्रिया