
दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजिव गुरूङलाई २० प्रतिशत कैद छुट हुने भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो।
२० प्रतिशत छुट पाउँदा मनाङेको जेल सजाय १ वर्ष घट्नेछ।
मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए
अदालतका अनुसार मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको छ ।
मुलुकी ऐन दण्ड सजायको ४१ (क)मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार मनाङेले २० प्रतिशत सजाय छुट पाएको अदालतले जनाएकाे छ ।
सर्वोच्च अदालतले मनाङेलाई २० कात्तिक २०८१ मा ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । मनाङे कात्तिक २७, २०८१ मा अदालतमा उपस्थित भएका थिए ।
उनलाई अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने हुन्थ्यो । त्यसमा उनले २० प्रतिशत छुट पाउने भएका हुन् ।
प्रतिक्रिया