भारत सरकारको सहयोगमा इनरुवामा निर्माण हुने बिद्यालय भवनको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास भएको छ ।

विद्यालयको भवन निर्माणको शिलान्यास मंगलबार सुनसरीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा गरेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

नेपाल-भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३ हजार रुपैयाँ परियोजना लागतमा त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण हुनेछ ।

नेपाल-भारत विकास सहयोग अन्तर्गत रहेको भारत सरकारको अनुदानमा बिद्यालयमा दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माण हुने राजदूतावासले जनाएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को अन्तरगत रहेको छ । यसको कार्यान्वयन इनरुवा नगरपालिका मार्फत भइरहेको छ ।

श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५ प्रतिशत छात्राहरू रहेका छन् ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको जानकारी दिए । उनले परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएको बताए ।

जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । उनले वर्षौंदेखि रहिआएको भारत नेपाल विकास सहयोग साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गरेका छन् । उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता समेत ब्यक्त गरे ।

संविधान सभाका माननीय सदस्य, सुनसरीस्थित इनरुवा नगरपालिकाका मेयर तथा विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्ने उनीहरुको भनाई थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर