
लेफ्टिनेन्ट कर्णेलसहितलाई हिरासतमा लिएर सेनाले थाल्याे अनुसन्धान

सिरियामा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ अन्तर्गत खटिएको नेपाली सेनाको टोलीमाथि जंगीअड्डाले छानबिन थालेको छ ।
सिरियाबाट फर्किएको १९७ सदस्यीय टोलीका झण्डै ३० जनामाथि सोधपुछ भइरहेको छ, जसमा मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार अधिकारी अहिले पनि सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।
२२ मंसिर २०८१ मा सिरियाको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूहले हमला गरी केही अत्याधुनिक हतियार लुटेका थिए ।
घटनापछि युनले छानबिन गरी हतियार फिर्ता गरिसकेको भए पनि, नेपाली सेनाले आन्तरिक कमजोरीको मूल्याङ्कन गर्न छानबिन थालेको हो ।
हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरिरहेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।
सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो । गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ ।
सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।
हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।
विश्वका ११ विभिन्न मुलुकमा नेपाली सेनाका ५ हजार ९१८ सैनिक शान्ति स्थापनार्थ खटिएका छन् ।
प्रतिक्रिया