राप्रपाले वैशाख ७ मा काठमाडौँको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए । उनका अनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ ।

उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको बताए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाइको लागि राजनीतिक एवं कानुनी लडाईं सशक्त रुपमा अगाडी लैजाने निर्णय भएको बताए ।

उनले भने ‘आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी संगठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय पनि गरेका छौं । त्यसैगरी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनहरूको कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्ने र संगठनलाई अझै मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ । पक्राउ परेका हाम्रा पार्टीका नेताहरूलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइको लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी बनाउने समेत निर्णय भएको छ ।’

उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताए । आन्दोलनका थप कार्यक्रम पछि तय गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *