मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछ : सुरेन्द्र पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताएका छन् ।

बिहीबार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताए ।

प्रदेश सरकारले पर्यटकीय राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा तीव्र गतिका साथ काम गरिरहेको उनको भनाइ छ । उनले पछिल्लो समय प्रदेशमा रहेका मुक्तिनाथ, त्रिवेनीधाम,पञ्चकोटलगायत मठमन्दिरहरू विश्वभर परिचित हुन थालेकाले धार्मिक पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले आन्तरिक पर्यटकहरू पनि घरबाहिर निस्किएर कतै घुम्न जाऊँ भन्दा पोखरा नै पहिलो रोजाइमा पर्ने दाबी गरे । उनले गण्डकी प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेला मैदान निर्माणको काम भइरहेको बताए ।

उनले खेलमैदान निर्माण भएपछि विश्वभरका खेलाडीहरूलाई भ्रमणका लागि आकर्षित गर्ने गरी खेल पर्यटनको प्रवर्द्धन गरिने बताए ।

मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि हुन सकेन भन्ने भाष्य निर्माण खोजिएको भन्दै २०४८ सालपछिका ३० वर्षमा भएका भौतिक पूर्वाधारका कामहरु अध्ययन गर्न सुझाव दिए । गाउँका जनतालाई उत्पादनमा जोडेर आर्थिक आर्जन गर्ने अवस्थामा पुर्याउन सके कोही पनि निराश हुन नपर्ने उनको भनाइ छ ।

उनले भने ‘गण्डकी प्रदेश निश्चय पनि एउटा पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको प्रदेश नै हो । अहिले पनि नेपालमा आउने पर्यटकहरू विदेशी पर्यटकहरू काठमाडौं आइसके पछि काठमाडौं बाहिर कहाँ जाने भन्दा पहिलो रोजाइ पोखरा हुन्छ । र स्वदेशी पर्यटकहरू पनि घरबाट बाहिर निस्केपछि कहाँ जाने भनेपछि पहिलो गन्तव्य पोखरा नै हुन्छ । अर्थात गण्डकी प्रदेशकै पर्यटकीय क्षेत्रहरू रोजाइमा परेको छ । त्यसैले हामीले गण्डकी प्रदेश क्षेत्रको पर्यटन विकासका लागि गत वर्ष पोखरालाई नेपालको पर्यटकीय राजधानी भनेर घोषणा गरेका छौँ । र पर्यटकीय राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरूको निर्माणतर्फ पनि गण्डकी प्रदेश सरकारले त्यसलाई प्रायोरिटी राखेर हामीले काम गरिरहेको अवस्था छ । चाहे धार्मिक क्षेत्रको पर्यटनलाई भन्नुस्, चाहे प्रकृतिले दिएको पर्यटकीय क्षेत्रहरूको हिसाबले गण्डकी प्रदेशको पोखरा र त्यसको वरपरका क्षेत्रहरू निकै सम्भावनायुक्त ठाउँहरू छन् । त्यति मात्रै नभईकन अहिले हामीले धार्मिक पर्यटनलाई पनि पहिलो महत्वपूर्ण रुपमा पर्यटकलाई भित्र्याउने अर्थात पर्यटक गण्डकीमा ल्याउनका लागि धार्मिक पर्यटनलाई पनि अगाडि बढाउनुपर्छ भनेर हामीले त्यही अनुसार कार्यक्रमहरूलाई अगाडि बढाएको छौँ । किनकि हामीमध्ये यहाँ सबैले सुनेका छौँ कि मनकामनाको मन्दिर, बागलुङ कालीकाको मन्दिर, अहिले नयाँ स्थान आएको छ पञ्कोट, मुक्तिनाथ, त्रिवेनीधामलगायतका धार्मिक स्थलहरू छन् जो नेपालमा मात्र नभई वि देशमा पनि परिचित छ, ती स्थलहरू पनि गण्डकी प्रदेश भित्रै पर्छन् । त्यसलाई पनि हामीले धार्मिक पर्यटनको रुपमा प्रवर्द्धन गरेर यी लगायत जहाँ सम्भावना छ त्यसलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा अगाडि बढाउँदै छौँ भने संसारकै हाइ अल्टिच्युटको खेल मैदान मुस्ताङमा बनाइ रहेका छौँ । त्यो खेल्नका लागि मात्रै होइन । त्यो हाइ अल्टिच्युट मैदानमा आएर कोही पनि संसार भरका खेलाडीले एक पटक त्यो खेलमैदानमा जाने इच्छा व्यक्त गरुन् र त्यहाँ पुग्ने संसारका खेलाडी र खेलको माध्यमबाट पनि प्रदेशलाई चिनाउन पर्छ भनेर त्यो क्षेत्रमा पनि कामहरु अगाडि बढाइ रहेका अवस्था छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *