
मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैन : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् ।
शुक्रवार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताएका हुन् ।
उनले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताए । उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराए ।
उनले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताए ।
यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
उनले भने– ‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ । तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन । लोकतन्त्र भित्र बसेर आफ्ना सबै गतिविधि गर्न पाइन्छ । शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा हुन्छ । तर विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जोरजबरजस्ती गर्ने र त्यसकामार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातफै लैजान्छु भन्न पाइँदैन । यसका बारेमा सबै सचेत हुनु जरुरी छ, यो हाम्रो जिम्मेबारी हो ।’
गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराए ।
उनले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने बताए ।
कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उनको भनाइ छ । ‘कुनै मानिस नागरिकता बनाउन आएको छ भने नागकिरताका लागि आवश्यक कागजात छ कि छैन ढोकामै हेर्नुस् । यदि कुनै कागजात कम परेको छ भने यो कुरा तपाईको कम प¥यो यसरी बनाएर ल्याउनुहोस् भनेर सिकाएर पठाउनुस् । एक फन्को कार्यालयमा घुमी सकेपछि बिहान १० बजे आएको मान्छे बेलुका ५ बजे तपाईको छ वडाको सिफारिस छैन भन्न पाइँदैन । सेवा दिँदा झन्झट नमानी, अप्ठ्यारो नमानीकन दिनुस् । सेवा प्रदान गरिने कुरा भनेको तपाईले हाँसेर खुशी भएर व्यवहार गर्नुभयो भने पनि उस्को आधा समस्या समाधान हुन्छ’ उनले भने ।
गृहमन्त्री लेखकले मुलुकमा स्थिर सरकारको सुनिश्चिता गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धि वर्तमान सरकारको लक्ष्य भएको बताए ।
प्रतिक्रिया