
गैरआवासीय नेपाली संघ यूकेको प्रवक्तामा कंडेल नियुक्त


गैरआवासीय नेपाली संघ यूकेको प्रवक्तामा डा कुल प्रसाद कंडेल नियुक्त भएका छन्। संघको हालै सम्पन्न बैठकले सर्वसम्मत निर्णय गर्दै समाजसेवी तथा पेशागत रुपमा अनुभवी कंडेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
रुपन्देहीमा जन्मिएर गैंडाकोट, नवलपुरलाई स्थायी ठेगाना बनाएका डा। कंडेलले २०५९ सालको एसएलसीमा जिल्ला टपर हुँदै आफ्नो शैक्षिक यात्रा सुरु गरेका थिए । उनले नेपालकै प्रतिष्ठित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत पशु चिकित्साशास्त्रमा स्नातकोत्तर तहको अध्ययन सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
नेपालमा पशु स्वास्थ्य र अनुसन्धान क्षेत्रमा कार्यरत रहेर महत्वपूर्ण योगदान पुर्याएपछि हाल डा कंडेल बेलायतको युनिभर्सिटी कलेज लन्डन अन्तर्गत मस्तिष्क विज्ञान संकायको अनुसन्धान विभागमा स्थायी करारमा कार्यरत हुनुहुन्छ। उहाँको बेलायतमा आठ वर्षभन्दा बढीको पेशागत अनुभव छ।
सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिमा पनि सक्रिय रहँदै आएका डा कंडेल नेपाली समुदायसँग घनिष्ठ सम्बन्ध राछन् । एनआरएन युकेको प्रवक्तामा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने एनआरएन युके जस्तो संस्थाको प्रवक्ता हुनु गर्वको विषय हो। यो पद मात्र होइन, जिम्मेवारी हो — म पारदर्शिता, समावेशिता र संवादमा विशेष जोड दिनेछु। बेलायतका नेपालीहरुको हकहित र आवश्यकता सम्बोधन गर्न म निरन्तर सक्रिय रहनेछु।’
एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरले डा। कंडेलको शैक्षिक योग्यता, पेशागत दक्षता र समुदायप्रतिको समर्पणका आधारमा यो जिम्मेवारी दिइएको जानकारी दिए । संघले उनको कार्यकाल प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया