
नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ नापी ऐन ड्राफ्ट भइसकेको बताएका हुन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारी ड्राफ्ट भइसकेको नयाँ ऐनलाई मन्त्रालयमा छलफल गरी सरोकारवाला सबैको लागि खुला गर्ने बताउँदै सबैको सुझाव लिएर अगाडी बढ्ने बताए । उनले भूमि सम्बन्धी नयाँ ऐन निर्माणको लागि मन्त्रालयले समिति गठन गरेको समेत जानकारी दिए । उनले उक्त समितिले विज्ञहरूलाई समावेश गरेर काम थाल्ने समेत जिकिर गर्दै विज्ञहरूले गरेको ड्राफ्टलाई सरोकारवालासँग छलफल गरी त्यसलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्को बैठक हुँदै संसद्मा पठाउने बताए ।
मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले एघार वटा नयाँ ऐन बनाउनको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जिकिर गरे ।
उनले भने ‘मैले पदभार गरेपछि जग्गा ९नाप जाँच० ऐन, २०१९ र भूमि सम्बन्धी ऐन, २०२१ लाई बदलेर नयाँ ऐन बनाउनुपर्छ भन्ने कुरा उठाए । सम्माननीय प्रधानमन्त्रीज्युले पनि ११ वटा ऐन नयाँ बनाउने भनेर निर्देशन पनि दिनुभएको छ, त्यो मध्ये भूमि ऐन पनि पर्दछ । हामीले यो ऐन बनाउनको लागि एउटा समिति बनाएका छौँ । हिजो, अस्तितिर समिति बनाएका छौँ । त्यो समितिले विज्ञहरू हायर गरेर ड्राफ्ट गर्छ । त्यसपछि सरोवालासँग छलफल गरी त्यसलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद् हुँदै संसद्मा पटाउँछौँ । नापी ऐन ड्राफ्ट भइसकेको छ । नयाँ ऐन नै ड्राफ्ट भइसकेको छ । त्यसलाई मन्त्रालयमा छलफल गरेर खुल्ला गर्छौ । सबैलाई सुझाव लिएर अगाडी बढ्छौँ ।’
मन्त्री अधिकारीले रियल स्टेट व्यवसाय विदेशी मुलुकमा प्रतिष्ठित उद्योगको रूपमा विकास भएपनि नेपालमा अझै प्रतिष्ठित उद्योगको रूपमा देखापर्न नसकेको बताए । उनले नेपाल जग्गा तथा आवास विकास महासङ्घको स्थापना भएको तिस वर्ष पुगे पनि नेपाल अन्य मुलुकको तुलनामा पछाडि रहेको जिकिर गरे ।
उनले घरजग्गा तथा आवासको व्यवसाय गर्ने निकायहरूले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश छर्न नसकिएको बताए । उनले घर जग्गा व्यवसायीहरूले आफ्नो फाइदाको लागि मात्रै काम गर्छन् भन्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।
मन्त्री अधिकारीले भने ‘रियल स्टेटको उद्योगको अवस्थामा हेर्ने हो भने अन्य मुलुकमा प्रतिष्ठित उद्योगको रूपमा विकास भएको छ । तर, हाम्रो मुलुकको सन्दर्भमा भन्ने हो भने हामी अझै प्रतिष्ठित उद्योगको रूपमा देखा परिसकेको अवस्था छैन । हाम्रो सुरुवात नै ढिला भयो । स्थापनाको तिस वर्ष भएपनि हामी अन्यको तुलनामा पछाडि नै छौँ । साँच्चै घरजग्गा तथा आवासको व्यवसाय गर्ने हाम्रा निकायहरूले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश छर्न सकिएको अवस्था छैन । घर जग्गा व्यवसाय गर्नेहरूले आफ्नो फाइदाको लागि गरेका हुन्, हाम्रो लागि होइन भन्ने बुझाइ छ । यसलाई चिर्न जरुरी छ । यो चिराइको कमी छ, मैले आफूले अनुभूति गरेको हो ।’
उनले नेपाल जग्गा तथा आवास विकास महासङ्घले आफ्नो उद्देश्य र लक्ष्यलाई नीति, विधि र कानुनअनुसार अगाडी बढ्ने कुरामा उब्जिएका भ्रमहरूलाई चिर्न पहिलो प्राथमिकता दिएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया