
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।
सीएनएनको समाचारअनुसार विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख छ । सोअनुसार संस्थाका कर्मचारी पनि कटौती गरिनेछ । ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने जानकारी दिइएको सीएनएनले जनाएको छ ।
इमेलअनुसार ३२० जनाभन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वेच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिएको छ । प्रस्तावमा रुचि राख्नेहरूलाई अप्रिल २९ सम्म इमेल पठाउन भनिएको छ । केही कर्मचारीहरूलाई मे ५ बाट बिदामा राख्न सकिने जनाइएको छ, यद्यपि यसबारे मिति स्पष्ट गरिएको छैन ।
सन् २००४ मा कंग्रेसद्वारा सिर्जना गरिएको एमसीसीले युक्रेन एल साल्भाडोर र नेपाललगायत दर्जनौं विकासशील देशहरूलाई पूर्वाधार र नीति सुधारका लागि सहयोग गर्दै आएको थियो । एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो । एमसीसीलाई चीनको बेल्ट एण्ड रोड पहलप्रति अमेरिकी प्रतिक्रियाको रूपमा हेरिएको छ ।
प्रतिक्रिया