
राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना


राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको भर्त्सना गरेको छ ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय एकता अभियानले घटनाको घोर भर्त्सना गरेको हो । जम्मू कश्मीरको पहलगाममा आतङ्ककारीहरुले आक्रमण गर्दा एक नेपालीसहित कम्तिमा पनि २६ जना मारिएको बताइएको छ ।
‘भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाले हामी नेपाली र विश्वभरीका हिन्दु समुदाय गहिरो दुःखमा छौं । निर्दोष नागरिकको ज्यान जाने यस्ता बर्बर र अमानवीय घटनाले मानव समुदायलाई पीडित बनाएको छ । नेपाल जहिले पनि शान्ति, सहअस्तित्व र मानवअधिकारको पक्षमा उभिँदैआएको छ । यस्ता आतङ्कवादी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं । भारत सरकार र जनताप्रति यस दुःखद् घडीमा हामी पूर्व ऐक्यवद्धता प्रकट गर्दछौं,’– राष्ट्रिय एकता अभियानले भनेको छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले जम्मू कश्मीरमा आतङ्ककारीहरुले धर्म सोधीसोधी मारेको बताए । ती आतङ्कारीहरुको निशाना भारतमात्रै नभएर विश्वका हिन्दु समुदाय रहेको उनले बताए । ‘विश्वमा स्लामिक आतङ्कवाद बढ्दै गएको छ । त्यसबाट नेपाल अछुतो छैन । नेपाल सरकार मौन छ, प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुरा गरेर, समवेदना दिएर मात्रै हुँदैन । नेपालमा त्यस्ता घटना रोक्न सरकारले पहल गर्नुपर्यो,’– उनले भने ।
राष्ट्रिय एकता अभियानकी सदस्य लक्ष्मी ज्ञवाली, दयाराम पाण्डेयलगायतले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी घटनाको भर्त्सना गर्दै दुःख व्यक्त गरेका थिए ।
प्रतिक्रिया