शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छ : सांसद महत

नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका सांसद महतले यस्तो बताएका हुन् । उनले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताए ।

उनले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए ।

उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताए ।

उनले भने, ‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिबद्धता गरेका विषयहरूलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसदबाट पास गरेर कानूनी रूप दिनुपर्छ । शिक्षक साथीहरूले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ । केही समय विधेयक पारित गर्नको लागि लाग्छ । सरकारतर्फबाट वार्ता गरेर अहिले तत्का यी यी कुराहरू गर्न सकिन्छ, यी कुराहरू यसकारण गर्न सकिएन तपाईंहरुले पनि बुझिदिनुपर्‍यो भनेर समझदारी गरेर कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै सांसद महतले सरकारको ढल्ने कुरामा सत्यता नरहेको बताए । सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *