वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको मर्मअनुसार वर्तमान शासन व्यवस्था टिकाइराख्न सरकार जिम्मेवार ढंगले क्रियाशील रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा बोल्दै उपप्रधानमन्त्री सिंहले संविधान कार्यान्वयनलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘२०७२ सालमा जारी संविधानको भावना अनुसार जनताको जीवन र जीविकोपार्जन सहज बनाउने दिशामा सरकार अग्रसर छ,’ उनले भने, ‘संविधानमा भएका कमी-कमजोरी सुधार्दै देशलाई स्थायित्व र समृद्धितर्फ लैजान हामी लागिपरेका छौं ।’

उनले वर्तमान सरकार नेपाली काँग्रेस, नेकपा एमालेसहितका दलहरूको सहमतिमा बनेको उल्लेख गर्दै यस्तो सहकार्य राजनीतिक स्थायित्वका लागि अपरिहार्य रहेको स्पष्ट पारे । ‘राजनीतिक स्थायित्वबिना जनजीवन सहज हुन सक्दैन, त्यसैले साझा प्रयत्न आवश्यक छ,’ सिंहले भने ।

कोभिड-१९ पश्चात अर्थतन्त्रमा उत्पन्न चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न सरकार लोकप्रियता कमाउने आकर्षक कार्यक्रमहरूभन्दा पनि संरचनात्मक सुधार र दिगो नीतिमा केन्द्रित भएको उनले बताए । ‘जादुको छडी कसैसँग छैन, तर सरकार प्रतिकूल अवस्थाबाट अनुकूलतातर्फ देशलाई लैजान गम्भीरताका साथ अघि बढेको छ,’ उनले प्रष्ट पारे ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था सम्हाल्न आवश्यक दिशानिर्देशन दिएको सिंहको भनाइ थियो ।

संविधान निर्माणको ऐतिहासिक संघर्षको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले अधिकारको अभ्याससँगै नागरिकहरूले आफ्नो जिम्मेवारी पनि निभाउनुपर्नेमा जोड दिए । ‘अधिकार मात्र मागेर हुँदैन, त्यसको सदुपयोग र साथसाथै आफ्नो कर्तव्य निर्वाह पनि आवश्यक छ,’ उनले भने । संविधानको मर्म र भावनाअनुरूप राष्ट्रलाई अगाडि बढाउने सरकारको प्रयास निरन्तर जारी रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर