
धितोपत्र बोर्ड र अध्यक्ष श्रेष्ठ बिरुद्ध किन भइरहेको छ प्रायोजित आक्रमण?

नेपाल धितोपत्र बोर्ड (सेवोन) मा व्यवसायिक र योग्य ब्यक्ति पुगेपछि उनको स्थानमा आफु अनुकुलका ब्यक्ति लैजान नपाएको एउटा ‘खास बिचाैलिया’ समूह यतिबेला कुप्रचारमा जुटेको छ । पर्दा पछाडी रहेको सो समूहले केही संचारमाध्यमलाई आफु अनुकुल प्रयोग गरेर सेवोन र अध्यक्ष सन्तोष श्रेष्ठ बिरुद्ध अर्नगल प्रचारबाजी र आरोप लगाइरहेको हो ।
बाहिरबाट हेर्दा हो जस्तो लाग्ने मनोगत घटना विवरण बनाएर त्यो समूहले संचारमाध्यममा सेवोन र श्रेष्ठ लक्षित आक्रमण गरिरहेको खुल्दै गएको छ । पछिल्लो समय ‘बिचौलिया मार्फत कमिशन मागिएको’ भन्ने शिर्षकमा आएको समाचार बिरुद्ध कमिशन मागिएको भनिएका कम्पनीले नै खण्डन गरेपछि पर्दा पछाडीको त्यो ‘खास बिचौलिया’ समूहको करतुत उदाङगो भएको हो ।
उनीहरूले उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का केही पदाधिकारीहरुको प्रयोग गरेर हेडलाइन त जुटाए तर उर्जा प्रवद्र्धकहरु नै विरुद्धमा उभिएपछि अहिले घटनाले अर्कै मोड लिएको छ । इप्पानका पदाधिकारीहरुले आइपीओ निष्काशन प्रक्रियामा नेसेबोनले कमिसन मागेको आरोप लगाएका थिए ।
यसरी आरोप आएपछि विकास हाईड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जीले विज्ञप्ति जारी गर्दै हालसम्म आइपीओ निष्काशनका लागि स्वीकृति लिनका लागि कमिसन बुझाउनु नपरेको बताएका छन् । कम्पनीले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचार प्रति यस कम्पनीको ध्यानाकर्षण भएको बताईएको छ ।
‘यस प्रक्रियामा हामीले कुनै पनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरि नियमानुसार स्वीकृती प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौं,’ कम्पनीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यता पियोर इनर्जीले पनि समाचारमा बताईएको जस्तो आइपीओ निष्काशनको स्वीकृतिका लागि कमिशन दिएको कुरा कपोकल्पीत भएको बताएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त बिषयवस्तुसँग कम्पनीको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि सम्बन्ध नरहेको जानकारी दिएको छ । कम्पनीले यस बिषयमा प्रेस काउन्सील नेपालमा उजुरीसमेत गरिसकेको बताएको छ ।
यसअघि केहि संचारमाध्यमहरुमा सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नै जलविद्युत प्रवद्र्धकहरुसँग आइपीओ निष्काशनका लागि कमिसन लिएको आरोपसहितका समाचारहरु प्रकाशित भएका थिए । बोर्डले आइपीओ निष्काशन स्वीकृतिका लागि कमिसन नै मागिएपछि इप्पानको आकस्मिक बैठक बसेको समेत उल्लेख छ ।
तर सेबोनले मंगलबार विज्ञप्ती जारी गर्दै आफुहरुले आईपीओ जारी गर्दा कुनै अनुचित लाभ नलिएको भन्दै सो सम्बन्धमा प्रमाणित गर्न चुनौती दिएको छ । पछिल्लो समय जलविद्युत क्षेत्रमा विकृति बढ्दै गएपछि संसददेखि सरकारका विभिन्न निकायले सो सम्बन्धमा कडाई गर्न निर्देशन दिएको छ ।
सेवोनले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउनुका साथै आइपीओ जारी गर्न लाइनमा रहेका कम्पनीहरुको बिस्तृत वित्तिय अवस्था अध्ययनगर्न थालेपछि खास बिचौलिया समूह आत्तिएको हो । उसले अनर्गल प्रचारबाजीगर्दै सेवोन र अध्यक्ष श्रेष्ठको बिरुद्ध प्रोपोगाण्डा वार सुरुगरेको चर्चा चलेको छ ।
अध्यक्ष श्रेष्ठको शैक्षिक, व्यवसायिक र पारिवारिक पृष्ठभूमी बाहेक उनले कमाण्ड सम्हालेको केही दिनमै देखिन थालेको परिवर्तनबाट खास बिचौलिया समूह अत्तालिएको छ । आफु अनुकुलका यस बहादुर लगेर कजाउने उनीहरुको चाहना पुरा नभएपछि यतिबेला खास बिचौलिया समूहले दिन बिराएर लाजिम्पाटको एउटा तारे होटलमा पत्रकारलाई लन्च र डिनर मिद्धिङमा गोप्य भन्दै गलत सूचना प्रवाह गरिरहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया