नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने चार चिनीयाँ नागरिक पक्राउ

नेपाल हुँदै भारत अवैध रूपमा प्रवेश गर्न खोज्ने चार जना चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ। बिहारको मोतीहारी जिल्लाअन्तर्गत हरैया थाना क्षेत्रस्थित नेपाल–भारत सीमामा रहेको मितेरी पुल हुँदै उनीहरू बुधबार भारत प्रवेश गर्ने प्रयासमा थिए।

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका डेन विजोन, लिं युन्गाघौई, हि क्युँ हैनसेन, र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले जानकारी दिए।

एसपी प्रभातका अनुसार ती चारै जना बिना भिसा भारतीय क्षेत्रमा अवैध रूपमा प्रवेश गर्न खोज्दै गर्दा एसएसबी र मोतीहारी प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूविरुद्ध हरैया थानामा प्राथमिकी (एफआरआई) दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।

पक्राउ परेकामध्ये एक महिला पनि रहेकी छन्, जसले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी छिन्। उनले आफूलाई नेपाली नागरिक बताउँदै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्ने गरेकी छिन्। सो महिलासँग पाकिस्तानका मोबाइल नम्बरहरू फेला परेकाले उनको सम्भावित पाकिस्तानसँगको सम्बन्धमाथि अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय सुरक्षा एजेन्सीका अनुसार ती चारैजना एक हप्ता अघिदेखि नेपालका विभिन्न स्थान, विशेषगरी काठमाडौंमा बसोबास गर्दै आएको खुलेको छ। उनीहरूले अचानक भारत प्रवेश गर्न खोज्नुको कारणबारे अहिले विशेष अनुसन्धान भइरहेको छ।

भारत-पाकिस्तान सीमामा ‘अपरेशन सिन्दूर’ नामक कारवाही सञ्चालनपछि भारत–नेपाल सीमामा उच्च सतर्कता अपनाइएको छ। सोही कारण सीमा क्षेत्रमा नेपालबाट आउने–जाने व्यक्तिहरूको कडाइका साथ जाँच भइरहेको छ। भारत प्रवेश गर्नेहरूसँग अनिवार्य रूपमा परिचयपत्र माग्ने कार्य एसएसबीले तीव्र बनाएको छ।

पक्राउ परेका चारै जना चिनियाँ नागरिकलाई मोतीहारी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *