
वैदेशिक रोजगारीका ठगै-ठग : जर्मनी, अमेरिकादेखि डिपेन्डेन्ट भिसामा क्यानडासम्मको प्रलोभन

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्नेहरू सक्रिय हुँदै आएका छन्। हालै काठमाडौं उपत्यकामा प्रहरीले गरेको कारबाहीमा विभिन्न देशमा रोजगारी वा बसोबासको प्रलोभन देखाई सर्वसाधारणबाट ठगी गर्ने चार जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जर्मनी र अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ३२ वर्षीय अर्जुन सुर्खेती, दाङ बबई गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय मोतीसरा खत्री र तार्केश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रूपेश ढकाल छन्।
अर्जुन र रूपेशले जर्मनी पठाइदिने भन्दै दुई जना पीडितबाट ३५ लाख रुपैयाँ असुलेका थिए भने मोतीसराले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ५ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपालिका–८ बाट, रूपेशलाई काठमाडौं महानगरपालिका–१२ बाट र मोतीसरालाई काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।
यसैबीच, क्यानडाको डिपेन्डेन्ट भिसाको प्रलोभन देखाई ठगी गर्ने एक महिला पनि पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–८ घर भई मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छन्।
उनले आफूले अध्ययनका लागि क्यानडाको भिसा प्राप्त गरेको र साथमा डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई एक पीडितबाट २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया