विद्युत प्राधिकरणको डिडिए गराउँछौँ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताएका हुन् ।

उनले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताए । विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए ।

उनले भने ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहन्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौँ ।’

अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पारे । प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *