सैनिक कल्याणकारी कोषको २ करोड घोटाला प्रकरणमा पूर्वजमदार कारागार चलान

सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार कारागार चलान भएका छन् ।

पूर्वजमदार आत्मराम थापालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । आइतबार न्यायाधीश भट्टको इजलासले कारागार चलानको आदेश दिएकाले कारागार पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

बहालवाला सहायक रथी रोशन खड्का र बहालवाला सेनानी बोधराज कार्कीसमेतको मिलेमतोमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखाबाट २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको थियो ।

यो प्रकरणमा नेपाली सेनाका अवकाशप्राप्त जमदार ४५ वर्षीय थापालाई परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान गरेको थियो । यही प्रकरणमा संलग्न रहेको आरोप लागेका अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी भने अहिलेसम्म फरार छन् । अधिकारीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

परिसरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर गरेको थियो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को कसुरमा थापा र अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो ।

जसमा ठगी बराबरको रकम २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो र क्षतिपूर्ति समेत मागदाबी गरिएको थियो । त्यसैगरी आपराधिक विश्वासघात गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकाले सोही अनुसार मागदाबी गरिएको छ । सोही मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर