प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । तर, आफू बिरामी भएको भन्दै प्रधानमन्त्री ओली संसद बैठकमा गएनन् ।
प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेको खबर संसद सचिवालयलाई जानकारी गराइएपछि कार्यसूचीबाटै उक्त कार्यक्रम हटाइयो ।
बिरामी भनेर संसद बैठकमै नगएका प्रधानमन्त्री ओलीले भने सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेको समयमा दुई नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सोमबार साँझ भेट गर्ने तय भए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि भेटवार्ता आजलाई सारिएको थियो ।
उनीहरूबिच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।
प्रतिक्रिया