
परराष्ट्र मन्त्रालयको मान्यता प्राप्त एनआरएनए कार्यसमिति सक्रिय


परराष्ट्र मन्त्रालयबाट औपचारिक मान्यता प्राप्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद् बेलायतको नयाँ कार्यसमिति सक्रिय रूपमा अघि बढेको छ।
महेश श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय कार्यसमितिलाई जेष्ठ ८ गते परराष्ट्र मन्त्रालयले सबै नेपाली नियोगहरूमा परिपत्र पठाउँदै औपचारिक मान्यता प्रदान गरेको हो। सोही समितिको निर्देशनअनुसार बेलायतमा २०२५ मार्च २३ मा सम्पन्न एकता महाधिवेशनबाट प्रेम गाहा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो।
यसअघि सर्वोच्च अदालतको २०८० साल चैत्र २१ गतेको परमादेशपछि गठन गरिएको उच्चस्तरीय संयन्त्र अन्तर्गत निर्वाचन समिति मार्फत एकता महाधिवेशनहरू सम्पन्न भएका थिए। ती महाधिवेशनहरूमार्फत एनआरएनए संस्थामा देखिएको विवादलाई विधिसम्मत रूपले अन्त्य गर्दै नयाँ संरचना स्थापित गरिएको हो।
नयाँ कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै २०२५–२७ कार्यकालका लागि सदस्यता हालसम्म खुला गरिएको छैन भन्ने स्पष्ट पारेको छ। साथै, सदस्यता संकलनमा प्रयोग भइरहेका केही एम आई एसप्रणालीहरू संघको प्रत्यक्ष नियन्त्रणमा नरहेकाले व्यक्तिगत विवरण दुरुपयोगको सम्भावनाप्रति सचेत रहन बेलायतवासी नेपाली समुदायलाई आग्रह गरिएको छ।
संघले समुदायमा फैलन सक्ने भ्रम र अफवाहहरूबाट सावधान रहन सुझाव दिँदै आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ। पारदर्शिता, उत्तरदायित्व र एकताको मूलमन्त्रमा आधारित रही कार्यसमिति क्रियाशील रूपमा अघि बढिरहेको जानकारी पनि समितिले दिएको छ।
प्रतिक्रिया