टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, यी हुन् संगीता पहाडीसहित १८ प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अर्यालसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो।

उनीहरुले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानि नोक्शानी गरेको देखिएकाले हानि नोक्शानी गरे बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

नेपाल टेलिकमबाट प्रतिष्पर्धा बिना करिव ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिव ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैँया भन्दा बढी भुक्तानी  पाउने स्थिति बनेको थियो ।

यस्तै राजेन्द्र श्रेष्ठ, धविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, एक चिनियाँ कम्पनी, कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, म्यानेजर हुवाङ ओईलाई पनि प्रतिवादी कायम गरेर मुद्दा चलाइएको छ।

यस्तो छ अभियोग पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर