
स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताएका छन् ।
आइतबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिद्ध्याउने गरी काम भइरहेको बताएका हुन् ।
उनले अहिले मैदानमा करिब डेढ सय जनशक्तिले काम गरिहरेको बताए । फ्लड लाइटको काम पनि जारी रहेको बताए । केही ढिला भएपनि नयाँ, ठूलो भव्य काम भइरहेको बताए । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरूको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउने बताए ।
एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै नभई स्टेडियमसहितको छ भन्ने ठाउँमा पुगेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘डेढ सय जति कामदारहरूले काम गरिरहनुभएको छ । फ्लड लाइटको लागि पनि उहाँहरुले काम गरिरहनुभएको छ । प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिद्ध्याउने गरी उहाँहरू लागिरहनुभएको छ । अलिकति ढिलो त भएको छ । तर खुसीको कुरा के हो भने नयाँ, ठूलो भव्य काम भइरहेको छ । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरूको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउँछ । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै होइन, स्टेडियमसहितको छ भन्ने ठाउँमा एउटा गौरव राख्न पाउने अवस्था बनेको छ ।’
प्रधानमन्त्री ओलीले नयाँ रङ्गशालाहरू पनि बनिरहेको बताए । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत वर्षको असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको थियो । प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाएर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।
प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।
प्रतिक्रिया