अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु निराश हुनेछन् : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको वित्त नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिबीच अब पूर्ण सामञ्जस्यता कायम हुने बताएका छन् । उनले यी दुई नीतिबीच टकराव वा दरार हेर्न चाहनेहरू निराश हुने दिन आएको स्पष्ट पारेका हुन् ।

मंगलबार ‘क्लिकमाण्डु डटकम’ले आयोजना गरेको प्रि-मनिटरी पोलिसी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच जीवन्त र घनिष्ठ सम्बन्धको आवश्यकता औंल्याए । ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक वा अर्थमन्त्री र गभर्नरबीच असमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले गर्दैन,’ उनले भने, ‘यी दुई निकायबीच उचित संयोजन र सन्तुलन हुन नसके त्यसले अर्थतन्त्रको गतिमा नकारात्मक प्रभाव पार्छ ।’

अर्थमन्त्री पौडेलले विगतमा दुई निकायबीचको सम्बन्ध चर्चाको विषय बन्दा आफूलाई दुःख लाग्ने गरेको समेत बताए । उनले अबका दिनमा दुवै निकायले एकअर्काका कुरा सुन्ने, बुझ्ने र सघाउने दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । ‘हामी आफ्ना सीमाभित्र रहेर समस्याकेन्द्रित र समाधानउन्मुख प्रयासमा सँगै अगाडि बढ्नेछौँ,’ उनले भने ।

कार्यक्रममा उनले मौद्रिक सुशासनमा केही प्रश्नहरू उठेको स्वीकार गर्दै त्यस्ता कमजोरीहरू कहाँ छन् भनेर पहिल्याएर समाधान गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा देखिएको दबाबलाई स्वीकार गर्दै समस्याको वर्णन गरेर बस्नेभन्दा पनि समाधान खोज्नतर्फ आफू केन्द्रित रहने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर