काेभिड महामारीमा सेना र सुडानबासीकाे जीवनरक्षामा समर्पित लेफ्टिनेन्ट हिनाशा थापा
२७ वर्षीया लेफ्टिनेन्ट हिनाशा थापा नेपालकी सेना अधिकारीका साथै एक चिकित्सक हुन् । उनी हाल भने संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा सञ्चालन गरेको अनमिस मिसनमा आबद्ध छिन् ।
कोरोना महामारीको बेलामा पनि उनी विश्वकै कान्छो राष्ट्रमा पर्ने दक्षिण सुडानमा शान्ति स्थापनार्थ सञ्चालित मिसनमा खटिरहेकी छन् । सन् २०१८ मा नेपालको सेनामा प्रवेश गरेकी थापा अनमिस मिसनमा सन् २०२० देखि आबद्ध छिन् ।
उनी साउथ सुडानमा वरिष्ठ मेडिकल अधिकारीको रुपमा कार्यरत छिन्, जहाँ १० शान्तिकर्मीहरुले उनलाई रिपोर्ट गर्छन् । विश्वव्यापी रुपमा नै परेको कोरोनाको असर दक्षिण सुडानमा उस्तै छ । त्यसकारण उनको टिम कोरोना नियन्त्रणका लागि खटिरहेको छ ।
उनको मेडिकल टिमले तालिकाअनुसार स्वास्थ्य जाँच, स्वास्थ्य सामग्रीको आपूर्ति र आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्थापन गर्दै आएको छ । मिसनका टोलीहरुलाई कोरोना संक्रमण हुन नदिनु नै उनको टिमको मुख्य लक्ष्य हो । त्यस क्रममा उनले विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य तथा सुरक्षा मापदण्डको सचेतना र पालनामा जोड दिएको जनाइन् ।
‘सबैभन्दा महत्वपूर्ण कुरा यहाँ शान्ति स्थापनाका लागि आएका सैनिकहरुबाट नै संक्रमण नहोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘त्यसैले दक्षिण सुडानका बासिन्दालाई जोखिम नहुने गरी सबै सैनिक दल तथा मिसनको नेतृत्वसँग मिलेर काम गरिरहेका छौं ।’
हाल विश्वभर नै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यससँगै अनमिस मिसनमा पनि भ्याक्सिन खरिद र वितरण लगायतका प्रशासनिक कामहरुको जिम्मेवारी पनि थापाको काँधमा आएको छ ।
उनले अहिले खोपको व्यवस्थापनसँगै शान्ति स्थापनामा तैनाथ सैनिकहरुलाई लगाउन पनि थालिएको जानकारी दिइन् । यस क्रममा कुनै रियाक्सन भएमा त्यसको उपचारका लागि पनि उनको टिमले काम गरिरहेको छ ।
अनमिस मिसन अन्तर्गत आफूले पाएको जिम्मेवारी एउटा चुनौतीको साथैसाथै योगदान गर्ने एउटा माध्यमका रुपमा उनी स्वीकार्छिन् । उनी अन्य देशबाट आएकाबाट धेरै कुरा सिक्न पाएको खुसी मान्छिन् ।
‘यहाँ बहुसांस्कृतिक वातावरण छ, जहाँ धेरै कुरा चाँडै सिक्न सकिन्छ,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा सिक्न सकिने अवसरहरु हुन्छन्, मैले पनि मेरो वरिपरि रहेका विश्वभरिबाट आएका मिलिटरी, सर्वसाधारण, प्रहरी लगायतका साथीसंगीबाट धेरै सिक्न पाएको छु ।’
अर्को महत्वपूर्ण कुरा पनि छ उनको लागि, त्यो हो विश्वमञ्चमा आफ्नो देशलाई प्रस्तुत गर्न पाउनु । ‘यो मेरो लागि ठूलो गौरवको कुरा हो,’ थापा भन्छिन् । चिकित्सकका रुपमा अनमिस मिसनमा उच्च स्तरको अनुशासन, सतर्कता र तयारी आवश्यक पर्ने उनको भनाइ छ ।
अनमिस मिसनमा आबद्ध भएपछि उनी एक कुशल सञ्चार अधिकृत बन्न सकेको महसुस गर्छिन् । किनभने अनमिस मिसन जस्तो ठूलो शान्ति अभियानमा अन्य सहकर्मीसँगको समन्वय एकदमै महत्वपूूर्ण हुने उनको अनुभव छ ।
‘यहाँसम्म कि एउटा सानो विवरणले पनि सहकर्मी तथा निर्दोष व्यक्तिहरुको जीवन र मृत्युको अवस्था निक्र्योल गर्न सक्छ,’ उनले भनिन्, ‘त्यसैले गल्ती गर्नका लागि एकदम थोरै छुट छ ।’
(अनमिसका लागि प्रियंका चाैधरीले हिनाशा थापासँग लिएकाे अन्तर्वार्ताबाट सांभार )
प्रतिक्रिया