Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

'सलामी शैली' को कटु आलाेचक मन्त्री झाँक्रीलाई 'लाेकमान' शैलीमा सलामी

पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै । 

 

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो । 

 

गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ उनले लिएकी हुन् । उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । 

 

मन्त्रीले सलामी लिँदैमा किन तस्बिर भाइरल भएको होला त ?

 

खास कुरो चाहिँ मन्त्री झाँक्री आफैं कुनै बेला यस्तो चलनको विरोध गर्थिन् । उनले सामाजिक सञ्जालमा अरुले सलामी लिइरहेको तस्बिर राख्दै उछितो पनि काढिन् । 


 

 

अरुलाई व्यंग्य गर्ने झाँक्रीले अहिले आफ्नो पालामा भने सलामी लिइन् । सर्वसाधारणले भने उनको यस्तो रवैयाप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्चालमार्फत व्यापक आलोचना गरेका छन् । 

 

कसैले मन्त्री झाँक्रीमाथि व्यंग्य गरेका छन् भने कसैले सलामी लिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ठाउँकुठाउँमा यस्तो सलामी लिँदै हिँडेपछि यस्तो चलनको आलोचना सुरु भएको थियो । 

 

झन् स्थानीय तहका जनप्रतिनिधिहरुले पनि सलामी लिएपछि गाउँगाउँमा सिंहदरबार र नयाँ राजा आएको भन्दै आलोचना हुन थाल्यो । 

मन्त्री झाँक्रीले पनि त्यतिबेला ‘टेबल सलामी, पिर्के सलामीपछि अब कुर्ची सलामी’ व्यंग्य कसिन् । तिनै नेतृ अहिले मन्त्री बदलिएपछि उही पुरानै नेताको कित्तामा पुगेको भन्दै अहिले आलोचना भइरहेको छ । 

 

खासमा नेतृ झाँक्री यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पक्राउ परेको र आफ्नो अभिव्यक्तिका कारण चर्चाको उत्कर्षमा  पुगिन् । नेता माधवकुमार नेपाललाई दिएको साथ र राजनीतिक अडानको कारण पनि उनी प्रशंसित भइन् । 

 

विद्यार्थी राजनीतिक आन्दोलनबाट आएकी झाँक्री युवापुस्ताले आशाका साथ हेरिएकी नेतृ पनि हुन् । नयाँ सरकारमा उनले मन्त्री पद पनि पाइन् । तर, कुनै बेला आफूले नै आलोचना गरेको विषयलाई ग्रहण गर्दा भने उनी अनावश्यक झमेलामा फसेकी छन् । 

 

खासमा सुरक्षा निकायले भने आफ्नो निर्देशिका अनुसार यसरी सलामी दिँदै आएको जनाएको छ । सरकारले नै बनाएको यस्तो निर्देशिका बनाएकाले त्यसैअनुसार सलामी दिइएकाले आलोचना गर्नु सही नहुने ती निकायको भनाइ छ । 

 

तर, सर्वसाधारणले भने यस्तो चलन हटाउनुपर्ने धारणा राख्दै आएका छन् । मन्त्री हुनुअगावै नेतृ झाँक्रीले पनि उक्त चलनको विरोध गरेको तस्बिर अहिले भाइरल भइरहेको छ । अहिले र पहिलेको तस्बिर राखेर उनको आलोचना भएको छ । 

 

उनी भने आलोचना आउने जान्दाजान्दै पनि सलामी लिएको बताउँदै आएकी छन् । घुस खान्नँ, अनैनिक काम गर्दिनँ भन्ने मन्त्री झाँक्रीले आफैले गलत भनेको चलनलाई स्वीकार्नैपर्ने के बाध्यता आइलाग्यो होला ? 

 

नेतृत्वमा पुग्नेले गलत प्रवृत्ति, चलन हटाउन नसक्ने हो भने जनताले के अपेक्षा राखेर नेतृत्वमा पुर्याउने होला ? 

 

#ठोकोताली । 

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै