गुरुराज घिमिरेलाई मतदान नगरेका शेखर कोइरालाले मागे माफी
नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् ।
उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यलगायतका नेताहरु उपस्थित भएनन् र घिमिरेले २ मतले हार्न पुगेका थिए । निवार्चनस्थल मै रहेर पनि शेखर, सुजाता र महेश आचार्यले मतदान नगर्दा हारेपछि कार्यकर्ता आक्रोशित भएका थिए । २ मतको अन्तरले उद्धव थापासँग पराजित भएपछि यही विषयले कोइराला निवासमा आज बिहानैदेखि कार्यकर्ता र नेताबीच चर्काचर्की भएको कांग्रेस स्रोतको भनाइ छ ।
संस्थापन पक्ष र सिटौला पक्षका उम्मेद्वार उद्धव थापालाई भने विजय गच्छदार र कृष्णप्रसाद सिटौलाले भोट दिएको कांग्रेस स्रोतले जनाएको छ । घिमिरेलाई विश्वप्रकाश शर्माको पनि समर्थन रहेको थियो ।
संख्यात्मक हिसाबले कमजोर रहेका कारण गुरुराजले धेरै मतले जित्ने अनुमानको आधारमा शीर्ष नेताहरु मतदान नगरेको र अन्ततः यस्तो परिणाम आएको पौडेलपक्ष र कोइराला पक्षको एक नेताले बताएका छन् ।
आज नै उक्त गल्तीको स्वीकार गर्दै शेखर कोइरालले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् । उनले कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै संशय भएका कारण मतदान नगरको सामाजिक सञ्जालमा बताएका छन् । कानुनी परामर्श गरेपछि जटिलता आउने देखेका कारण मतदान नगर्न उपयुक्त ठानेको उनले बताएका छन् । यसले ठूलो पाठ सिकेको भन्दै आफूबाट भएको कमजोरीप्रति माफी पनि मागेका छन् ।
‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु’ उनले भने ।
दुई मत अन्तरले उद्धव थापासँग पराजित घिमिरेले मतगणनामा कमी कमजोरी भएको हुनसक्ने भन्दै पुनः मतगणनाको माग गरेका छन् र निर्वाचन समितिमा निवेदन दिएका छन् । यसबारे केन्द्रले टुंगो गर्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया