महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् ।
भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र सङ्घ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यका साथ एमाले हिँँडेको बताएका छन् ।
‘हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन्’ उनले भने ।
उनले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाएका छन् । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उनको भनाइ छ । उनले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाएका छन् । उनले कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको बताएका छन् ।
‘जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ’ उनले भने ।
यसै क्रममा उनले अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने पनि बताएका छन् ।
सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १०औँ महाधिवेशनबाट देश नै खुसी बनेको बताएका छन् । चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदाररुपमा सफल भएको जिकिर पनि गरेका छन् ।
प्रतिक्रिया