न्याय माग्न नेपालगन्ज–काठमाडौं लङमार्च, यसो भन्छ प्रहरी
२० दिनदेखिको पैदल यात्राले उनीहरुको खुट्टामा ठेला उठेको थियो । अनुहार मलिन थियो अनि शरीर थकित । भोकप्यासले रन्थनिएका थिए । तर, पनि न्याय पाउने आशामा गन्तव्यतर्फ लम्किरहेका थिए ।
नेपालगन्जबाट आफ्नो पीरमर्का सुनाउन र राज्यसँग न्याय माग्न पैदलै आइपुगेको टोलीको अवस्था हो, यो । बुधबार यो टोली काठमाडौं आइपुगेको थियो । शुक्रबारदेखि उनीहरुले माइतीघर मण्डलामा रिले अनशन सुरु गरे ।
तर, अफशोच राज्यले यति टाढा दुःखकष्ट सहित काठमाडौं आएको यो टोलीसँग क्षमा मागेन, न त न्याय दिने आश्वासन नै दियो । उल्टै बेलुकीपख प्रहरी लगाएर पक्राउ गरियो ।
बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै आइपुगेका मृतकका आफन्त र अभियानकर्मीलाई भ्यानमा हालियो र प्रहरी कार्यालय पुु्याइयो । उनीहरुमध्ये अभियन्ता रुबी खान प्रहरी हिरासतमा छिन् भने केहीलाई मानव सेवा आश्रममा पठाइएको छ ।
उनीहरुलाई प्रहरीको निगरानीमा राखिएको छ । १३ जनालाई आश्रममा राखिएको हो भने ३ जना माइतीघर मण्डलामै छन् । दुवै महिलाको मृत्यु प्रकरणमा प्रहरीले गरेको अनुसन्धान चित्तबुझ्दो नभएको र दोषीलाई कारबाही गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।
के हो घटना ?
यो आन्दोलनको मुख्य कारण हो, नेपालगन्जका दुई महिलाको मृत्यु प्रकरण । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत फेला परेकी थिइन् । झुन्डिएको अवस्थामा घरमै उनको शव फेला परेको थियो । तर, आफन्तले भने उनको हत्या भएको दाबी गर्दै आएका छन् ।
नन्कुन्नीले लामो समयदेखि घरेलु हिंसा भोग्दै आएको र घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने उनीहरुको दाबी छ । तर, प्रहरीले भने आत्महत्या भएको जनाएको थियो । तर, प्रहरीले अनुसन्धनमा जाँगर गर्नुको सट्टा आत्महत्या किटान गर्न हतार गरेको पीडित पक्षको भनाइ छ ।
यस्तै, गत वर्षको मंसिरबाट बाँकेको परसपुर गाउँकी निर्मला कुर्मी बेपत्ता भइन् । त्यतिबेलै आफन्तले प्रहरीमा जाहोरी दिए । तर, प्रहरीले निर्मला फेला पार्न सकेन । पछि उनको मृत्यु भएको खबर आफन्तले प्रहरीबाट थाहा पाए ।
एकल महिला रहेकी कुर्मीको हत्या भएको उनीहरुको दाबी छ । उनको सम्पत्ति हडप्न खोज्नेहरुले कुर्मीको अपहरणपछि हत्या गरेको आरोप आफन्त तथा अभियन्ताले लगाएका छन् ।
यस्तो छ प्रहरीको भनाइ
प्रहरीले धोबीको घटनामा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिसकेको जनाएको छ । बाँके प्रहरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले धोबीको घटनामा हाल उनका लोग्ने र जेठाजु पुर्पक्षका लागि थुनामा रहेको जनाए ।
‘कुर्मीको विषयमा हामीले उनको हत्या आरोपमा कसैलाई पक्राउ गर्न प्रमाण पुग्दो भेटेका छैनौं,’ उनले पर्दाफासलाई भने । पीडितले किटान गरेका पूर्वसांसद तथा कांग्रेसका नेता बादशाह कुर्मी लगायत ७ जनाविरुद्ध उजुरी फेला परेको छ । तर नेता कुर्मीविरुद्ध पनि प्रमाण फेला नपारेपछि हाजिरीजमानीमा छोडिएको एसपी अधिकारीले बताए ।
दुवै घटनामा प्रहरीले अनुसन्धान गरेको, कुर्मीको घटना पुरानो भएकाले र प्रमाणहरु पनि फेला पारिनसकेकाले अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । अधिकारीले अनुसन्धानमा पूर्वाग्रह नराखिएको र कहीँकतै सम्झौता नगरेको दाबी पनि गरे ।
प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले अनशनकारीलाई पक्राउ गरिएको विषयमा आफूलाई जानकारी नभएको र यसबारे बुझ्नु पर्ने बताए । न्यायको माग गर्दै अनशन बस्न पाउने अधिकार भए पनि केही अवरोध सृजना हुँदा नियन्त्रणमा लिइएको हुनसक्ने उनको भनाइ छ ।
के छन् पीडितका माग ?
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गरेका छन् । दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गरे ।
बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकीना तेलीले बताइन् ।
स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उनले जनाइन् । पीडित परिवारले आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया