नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु
सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ ।
शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् ।
मिडिया स्पेस सोलुसन्सद्वारा आयोजित तीन दिन लामो एक्स्पोमा नेपाली तथा विदेशी कम्पनीहरु गरी कुल १०५ कम्पनीको सहभागिता रहेको छ ।कोभिड–१९का कारण हवाई–उडानमा समस्या आउँदा आशातीतभन्दा २५ प्रतिशत कम्पनीहरु सहभागी हुन नसकेको आयोजकले बताएका छन् ।
नेपालमै वैदेशिक कम्पनी र प्रविधि ल्याएर प्रभावकारी ढंगबाट नेपाली बजारमा परिचालन गर्ने उद्देश्यले यस एक्स्पोको आयोजना गरेको मिडियास्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।
एक्स्पोमा घर तथा व्यवसाय सम्बन्धी आवश्यक पर्ने निर्माण सामग्रीहरुको सोकेस गरिएको छ । यस एक्स्पोबाट कम्पनीहरुले बिजनेस इन्क्याइरी, अर्डर बूक गर्ने हुँदा सहभागी कम्पनीहरुको प्राथमिकतामा कन्ट्रयाकटर्स, बिल्डर्स, इन्जिनियर, इन्टेरियर डिजाइनर रहेको भट्टराईले बताए ।
तीन दिनसम्म सञ्चालनमा रहने यस एक्स्पोमा भारतीय कम्पनीहरुको संख्या उल्लेख्य रुपमा बढी छ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) र वाणिज्य तथा उद्योग मन्त्रालय भारतको सहयोगमा स्टल पनि राखिएको दूतावासले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण यो एक्स्पो २ वर्षको अन्तरालपछि आयोजना गरिएको छ । यस एक्सपोको मेन स्पोन्सर हिमाल स्टील्स रहेको छ भने को–स्पोन्सर भारतीय कम्पनी ओजोन रहेको छ ।
प्रतिक्रिया