सुनकाे जलप भएकाे साेफामा बस्ने पूर्व प्रमुख आयुक्त बस्न्यातको सदखोरको बास
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राखेर कारवाही अघि बढाउन आदेश गरेको छ ।
अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार गरेको थुनछेक बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
बस्न्यात भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आइतबार उपस्थित भएका थिए । अदालतमा आइतबारै उनको बयान सकेर थुनछेक बहस भएको हो ।
बस्न्यातलाई पूर्पक्षका लागि सदरखाेर डिल्लीबजार पठाएकाे अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।
उनलाई सदरखाेरकाे 'क' ब्लकमा राखिने जेलर गणेश आचार्यले बताए । यही ब्लकमा यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई राखिएको थियो ।
अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले पूर्व उप–प्रधानमन्त्रीसहित तीन मन्त्री, तीन पूर्वसचिव, पाँच सहसचिव र ६ उपसचिव विरुद्ध १० अर्ब १४ करोड ३४ लाखभन्दा बढी बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।
आरोपी बस्न्यातसँग नौ करोड ६५ लाख रुपैयाँ बिगो मागदाबी र भ्रष्टाचार निवारण ऐन अनुसार हदैसम्मको जेल सजाय मागगर्दै मुद्दा दर्ता भएको छ । ।
आयोगले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हडप्ने र सहयोग गर्ने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर गरिएकामध्ये कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार सबैभन्दा ‘हाइ प्रोफाइल’ हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भइसकेका तत्कालीन भौतिक पूर्वाधार सचिव दीप बस्न्यात अर्का ‘हाइ प्रोफाइल’ हुन् ।
तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर भएको छ । प्रतिवादी बनाइएका पूर्वसचिव छविराज पन्त पनि मन्त्री भइसकेका व्यक्ति हुन् । तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
सहसचिवहरू मुकुन्द्रप्रसाद आचार्य, रुद्रकुमार श्रेष्ठ, जीतबहादुर थापा, अशोकनाथ उप्रेती र तेजराज पाण्डेसहित तीन प्रमुख मालपोत अधिकृत, पाँच मालपोत अधिकृत र आठ शाखा अधिकृत तथा नायब सुब्बा, खरिदार र अमिनहरू गरी ६० जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
जग्गाधनी र मोही भनिएका ५० जनालाई पनि प्रतिवादी बनाइएको छ । यसबाहेक अतिक्रमण गरेर बसेका ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइएको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका खेल्ने डा दशोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादी बनाइएको छ ।
यी तीन जनाको प्रत्यक्ष संलग्नतामा ललिता निवासभित्रको अधिकांश जग्गा आफू, आफ्नो परिवार र आफैं संचालक भएको कम्पनीको नाममा राख्दै सरकारलाई प्रत्यक्ष हानि पुर्याएको अभियोगपत्रमा उल्लेख छ ।
सम्बन्धित समाचारः ललिता निवास जग्गा प्रकरणका ‘हाइ प्रोफाइल’ आरोपी दीप बस्न्यात विशेषमा बयान दिँदै
प्रतिक्रिया