प्रधानसेनापति र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटघाट, सैनिक सहचारीले गरे इन्टेलिजेन्सका जर्नेलसँग छलफल
प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।
भेटघाट पश्चात, फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक ईन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यामप्रसाद ढकालसँग भेटघाट गर्नुका साथै महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमण समेत गरेका थिए ।
सेनाले यस किसिमको भेटघाट तथा समय समयमा हुने भ्रमणबाट दुई देशबीच रहेको सम्बन्ध थप प्रगाढ हुनुको साथै दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाई क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया