कांग्रेसले महन्थलाई कहिले बिछ्याउँछ रातो कार्पेट ?
देशमा एउटा ठूलो आन्दोलन भर्खर सकिएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । २०६२/६३ को आन्दोलनबाट लोकतन्त्रको बहाली भए पनि मधेशका धेरै मुद्दा थिए, जुन मुद्दालाई तत्कालीन सद्भावना पार्टीका गजेन्द्रनारायण सिंहले उठाइरहेका थिए ।
त्यसैबेला बालुवाटारमा एउटा कार्यक्रम भएको थियो । जहाँ कांग्रेसका नेता महन्थ ठाकुर आफ्नो पार्टीका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसादको नजिक पुुगे । ठाकुरसँग मधेशका विषयमा धेरै मुद्दाहरु प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने थियो । त्यसलाई सरकारले सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।
ठाकुरलाई देख्नेबित्तिकै गिरिजाप्रसादले हिन्दीमै सोधे, ‘कैसे हे ठाकुरजी ?’ ठाकुरले आफ्नो बारेमा छोेडेर मधेशका मुद्दाहरुमा जानकारी गराउन खोजे । तर, गिरिजाप्रसादले उनको कुरा सुनेनन् । बरु ठाकुरका कामहरु गरिदिएको बताए ।
राजनीतिक नियुक्ति लगायतका विषयमा ठाकुरलाई अल्झाएर मधेशका मुद्दाहरुलाई किनारा लगाउने तत्कालीन कांग्रेसको नेतृत्वबाट ठाकुर असन्तुष्ट भए र मधेशकै पार्टीबाट त्यहाँको एजेन्डालाई राष्ट्रिय स्तरमा ल्याउने संकल्प गरे । त्यसैका लागि उनले लामो समयदेखि आबद्ध आफ्नो पार्टी कांग्रेसलाई पनि परित्याग गरे ।
त्यसपछि मधेशका मुद्दाहरुलाई उठाउन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । त्यसपछि तमलोपासँगै अन्य पार्टीहरुले मधेशका मुद्दाहरु सम्बोधन गराउन आन्दोलन नै गरे । त्यसपछि सरकाराले मधेशका कुरा नसुनी सुखै भएन ।
यसरी सधैं ओझेलमा परिरहेको मधेशलाई राष्ट्रिय स्तरमा ल्याउन भूमिका खेले पनि त्यसलाई कार्यान्वयन लगायत काम गर्नुपर्ने धेरै जिम्मेवारी मधेशका पार्टी र तिनका नेता ठाकुर लगायतलाई थियो । यस क्रममा उनीहरु पटकपटक जुटे र पटकपटक फुटे ।
विभाजनको श्रृंखला फेरि एकपटक दोहोरिएको छ । जनता समाजवादी पार्टी विभाजन भएर अहिले महन्थ ठाकुरको अध्यक्षतामा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
जनता समाजवादी पार्टी, नेपालको आधिकारिता गुमाएपछि ठाकुर पक्षले नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको हो । सरकारले मंगलवार ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि ठाकुर पक्षलाई नयाँ पार्टी गठनका लागि सहज भएको छ ।
यो घटनाले मधेशका एजेन्डा उठाउने विषयमा फेरि एकपटक मधेश पृष्ठभूमिका राजनीतिक दल तथा तिनका नेता फेरि असफल भएका छन् । राज्यबाट मधेशका एजेन्डा सम्बोधन गराउने ठाकुरको प्रयास पनि व्यर्थ साबित भएको छ ।
कुनै बेला कांग्रेसबाट यही एजेन्डा र असन्तुष्टि लिएर बाहिरिएका ठाकुर राजनीतिक जीवनको उत्तरार्धमा एकाएक एक्लो भएका छन् । उनी फेरि नयाँ दल गरेर अघि बढेका छन् । त्यतिबेला कांग्रेसको नेतृत्वले उनको मागहरुलाई नसुन्दा आफ्नो प्रिय पार्टी छोडेर संघर्षमा उत्रिएका थिए ।
तर, कांग्रेसमा ठाकुरले दिएको योगदानलाई सहजै बिर्सन मिल्दैन । त्यसैले त्यतिबेला मधेशको एजेन्डालाई नकारेको कांग्रेस नेतृत्वले अब आत्मसात् गर्न सक्नुपर्छ । त्यसका लागि पहिलो कदम हो, मधेशका सर्वोच्च नेता ठाकुरलाई कांग्रेसमा फेरि आबद्ध गराउन रातो कार्पेट ओछ्याउने । के कांग्रेसले त्यो बुद्धिमानी देखाउँछ होला त ? आगामी दिनमा पक्कै थाहा हुनेछ ।
प्रतिक्रिया