नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस
प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।
नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्विकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानून सरहको मान्यता पाएको थिएन् ।
राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक ३ वटा दर्जा सृजना गरिएको छ ।
पर्दाफासलाई प्राप्त विवरणअनुसार असईबाट सईमा बढुवाका लागि समस्या नभएकाले यी दुई दर्जाको बीचमा भने नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छैन ।
यो नियमसँगै अब करिब १८ हजारभन्दा बढी जुनियर अफिसर एकतह बढुवा हुने भएका छन् ।
यस्तै संशोधित नियमावली अनुसार कार्यालय सहयोगीको पनि पाँच श्रेणी भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ ।
नेपाली प्रहरीमा भएको नियमावली संशोधनपछि प्रहरीभित्र नै जुनियर अधिकृतहरुको मत बाझिएको छ । बहुमत पक्ष यो नियमावली संशोधनले आफुहरुलाई अपमानित गरेको सार्वजनिक प्रतिक्रिया दिइरहेका छन् ।
उनीहरुले लामो समय जागिरपछि बढुवा त हुने तर एकतह कम भएर हुने एउटा तर्क राखेका छन् । अर्को भनेको सिपाही हवल्दारको अवकाश अवधि १६ वर्ष बनाउन उनीहरुले माग गरेका छन् । यस्तै नियमावली संशोधनका लागि कार्यरत र लाभग्राहीसँग कुनै सोधपुछ नभएकोमा उनीहरुको गुनासो छ ।
यही सन्दर्भमा प्रहरी प्रवक्ता एसएसपी बिष्णुकुमार केसीले नियमावली राजपत्रमा प्रकाशित भएको दोस्रो दिन नै नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीको आधिकारीक धारणा दिए । मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताएका थिए ।
उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको बताए । एसएसपी केसीले प्रहरीमा थप गरिएका तीन पदले वृत्ती विकासको अवसर सबैले समान रुपमा पाउने अवस्था आउने दाबी गरे । प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संशोधनले हटाएको प्रवक्ता केसीले बताए । उनले पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने बताए ।
पर्दाफास डट कमले राजपत्रसहित पहिलो समाचार र त्यसको एकदिनपछि नियमावली संशोधनका बिषयमा प्रहरीको आधिकारिक प्रतिक्रिया सहित समाचार प्रकाशित गरेको थियो । यी समाचार पर्दाफासको आधिकारीक फेसबुक पेज, उसको फेसबुक ग्रुपसहित सुरक्षाकर्मीसहितलाई सूसूचीत गर्न प्रचलित नियम अनुसार संचालन भइरहेका ग्रुपहरुमा पोस्ट गरेको थियो ।
पर्दाफास समाचार समूह, नेपालका सुरक्षाकर्मी साथीहरु, नेपालका सुरक्षाकर्मी , नेपाल प्रहरी समाचार र नागरिक सुरक्षा समूहमा शेयर गरिएका यी दुई समाचारमा संयौं कमेन्टहरु आएका छन् । जसमा गुनासोगर्नेहरु संख्या करिब ९० प्रतिशत रहेको छ ।
पर्दाफासले समाचारका आएका प्रतिक्रियाका आधारमा प्रवक्ता केसीसँग गरेको भलाकुसारीमा उनले तल्लो दर्जाका प्रहरी अधिकारीहरुले केहीले बुझेर र केहीले नबुझेर गुनासो गरिरहेको बताए । उनका अनुसार हाल यो नियम लागू भएपछि बढुवामा प्राथमिकता पाउने समूह नै अर्को पटक एकतह बढुवाका लागि पहिलो समूह हुनेछ । यसबीचमा एकतह बढुवा र सोही अनुसारको सेवासुविधाले केही समयका लागि भएपनि उनीहरुको मनोबल बढाउने र उत्प्रेरण थपिने बिश्लेषण प्रहरी प्रधान कार्यालयको हो ।
प्रहरीभित्रको सिमित दरबन्दीमा बढुवा हुने आकांक्षीको संख्या अत्याधिक भएकाले यो तारतम्य मिलाउन केही समय लाग्ने प्रहरी प्रधान कार्यालयको बुझाई छ । भर्ना, बढुवा र अवकाशको बैज्ञानिक पद्धती स्थापनाका लागि समेत यी पदहरु थपिएको प्रहरी प्रधान कार्यालयको बुझाई छ ।
'केही साथीहरु प्रहरी निरीक्षक र हवल्दार हुने समयमा सहायक बन्नुपर्ने भएपछि असन्तुष्ट हुनुहुन्थ्यो र हुनुहुन्छ,' एसएसपी केसीले बिहीबार पर्दाफाससँग भने, 'यसपटक बढुवा हुने उहाँहरुनै अर्को पटक बढुवाको पहिलो दावेदार हो। केही बिषयमा कन्फियुजन छ । हामी त्यही बुझाइरहेका छौं । '
यस्तै प्रहरी प्रधान कार्यालयले जुनियर अफिसरको १६ वर्षे पेन्सनका बिषयमा समेत गृह कार्य गरिरहेको जनाएको छ ।
प्रतिक्रिया