नेपालगन्जको लक्की क्यासिनोमा मध्यरातमा के भयो यस्तो ?
नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए ।
नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्यक्ति थिए, नेपालगञ्जको सीमावर्ती शहर भारत बहराइचका विक्की । कुटपिटमा भने केही भारतीय र नेपाली पनि सहभागी थिए ।
विक्कीका अनुसार उनलाई कुटपिट गर्नेमा सुरेश कुर्मी, पंकज श्रीवास्तव, अनुराग साह, अश्विनी सिंह, अंशुमान सिंह लगायत व्यक्ति थिए । कुर्मी र साह नेपाली हुन् । ‘त्यस दिन १–२ बजेतिर क्यासिनो लक्की स्टारमा गएको थिएँ, एक्कासी उनीहरुले कुटपिट गरेर गाडीमा हाली अपहरणको प्रयास गरे,’ विक्कीले पर्दाफासलाई बताए ।
उनका अनुसार सन् २०१४ मा नेपाल आउनुअघि लखनउका अंशुमान सिंहसँग उनको जग्गाको विवाद थियो । त्यसपछि विक्की नेपाल आएर यतै विवाह गरी नेपालगन्जको आदर्शनगर बस्न थाले । पछिल्लो समय उनीहरुबीच नेपालगन्जकै क्लबमा भेटघाट भएको र अहिले समूह मिलेर कुटपिट गरेको विक्कीको आरोप छ ।
उनका अनुसार बिहीबार राति सेतो रंगको भारतीय नम्बर प्लेटको गाडीमा राखेर उनलाई मार्ने उद्देश्यले लगिएको थियो । राप्ति पुल पारि पुगेपछि प्रहरीले थाहा पाएको जानकारी समूहलाई भएको थियो । त्यसपछि उनलाई कुटपिट गर्दै नेपालगन्जमा लगेर छाडिएको थियो ।
विक्की र अंशुमानबीच भोलिपल्ट जिल्ला प्रहरी कार्यालय बाँकेमा सहमति भएको छ । तर, आफूले उजुरी दिने तयारी गरिरहेको विक्कीको भनाइ छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दुवै भारतीय नागरिक रहेको र उनीहरुबीच केही मनमुटावका कारण घटना भएको पर्दाफासलाई जानकारी दिए । घटनापछि दुवै जनालाई प्रहरी कार्यालयमा बोलाएको र अब आइन्दा यसो नगर्ने दुवैबीच सहमति भएपछि छाडिएको बताए ।
‘दुवै जनाले सहमति गरेपछि छाडेका हौं । साथी–साथी हौं, अब यसो गर्दैनौं भनेपछि छोडेका छौं,’ एसपी अधिकारीले भने, ‘कुनै पक्षबाट पनि उजुरी आएको छैन, उजुरी आएमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार विक्कीले भारतीय नागरिकका परिवारका महिला सदस्यसँग पटक–पटक फोनमा अश्लील व्यवहार गरेपछि घटनाले उग्ररुप लिएको हो । घटनाका दिन नेपाली युवाहरुको संलग्नताका विषयमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया