जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्री जियाको भ्रमण
नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् ।
जियासँगै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसहितको टोलीले शनिबार बिहान शिविरको भ्रमण गरेको हो । उनले शरणार्थीहरुको स्वास्थ्य, शिक्षा लगायतका विषय जानकारी लिएकी थिइन् ।
शरणार्थी परिचयपत्र नहुँदा कतिपय तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभूत कुराहरुबाट समेत वञ्चित हुनु परेको शरणार्थी अगुवाहरुको गुनासो थियो ।
उपमन्त्री जिया शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । उनी भारतको नयाँँ दिल्ली हुँदै तीन दिने भ्रमणका लागि एयर इन्डियाबाट काठमाडौं उत्रिएकी हुन् ।
एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।
प्रतिक्रिया