यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी
सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।
उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहरु शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धर कुमार चौलागाईं छन् ।
बढ्दो कोरोनाका कारण यसपटक केन्द्रमा सशस्त्र प्रहरीको मुख्यालय र काठमाडौं उपत्यकाका इकाइहरुबाट उत्कृष्ण घोषित र पुरस्कृत गर्न लागिएको हो । अन्य बाहिनी, गण, गुल्म र बीओपीमा उत्कृष्ट हुनेहरुको घोषणा र पुरस्कार वितरण सोही स्थानमा हुने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २१ औं स्थापना दिवस आज मनाउन लागेको हो । कोरोनाको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा थोरै अधिकारीको मात्र उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ ।
सशस्त्र प्रहरीका महानिरीक्षक बलको नेतृत्वबाट केही महिनापछि अनिवार्य अवकाशमा जान लागेका महानिरीक्षक शैलेन्द्र खनालले यतिबेला जिम्मेबारी आफुपछि महानिरीक्षकको लाइनमा रहेका डीआइजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र चन्दप्रकाश (सीपी) गौतमको काँधमा विस्तारै हस्तानान्तरण गर्दै लगेका छन् ।
सशस्त्र प्रहरीले यसअघिका स्थापना दिवसमा जस्तै यसपटक वर्षभरीका उत्कृष्ट कार्यालयको टुङगो लगाएको छ । यसपटक सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश (तत्कालिन प्रदेश २) महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएको छ । बलका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो ।
यसका प्रमुख डीआईजी गणेश ठाडा मगरले शान्तिसुरक्षा कायम गर्न तथा सीमा अपराध रोकथाम र राजस्व छली बिरुद्ध गरेको कारबाहीका आधारमा बाहिनीलाई उत्कृष्ट मानिएको हो ।
यसअघि बाहिनीको नेतृत्व गरेका डीआईजी चन्द्रप्रकाश गौतमले बाहिर प्रचारबाजीगर्ने भित्रभित्रै सेटिङ गर्ने गरेको सूचना प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र बलको मुख्यालयमा पुगेपछि उनको सरुवा भएको थियो । उनले चर्चामा रहेका र सबैको नजरमा पर्ने जिल्लाका सीमामा कडिकडाउ गर्ने तर कम चासो रहने जिल्लामा सेटिङमा तस्करी लाईन खुलाएको फेहरिस्त गृह मन्त्रालयमा पुगेको उच्च सरकारी स्रोतको दाबी छ ।
यस्तै बलको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । यसको नेतृत्व एसएसपी अन्जनीकुमार पोखरेलले गरिरहेका छन् ।
यस्तै सशस्त्र प्रहरी बल नेपालका रिजर्भ सहित ४६ गणमध्ये कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट हुन सफल भएको छ । हाल सरुवा भएका यसका गणपति एसपी ध्रुब कार्कीले गरेको कार्यका लागि उत्कृष्ट ठहर भएको हो ।
एसपी कार्कीले भारतीय समकक्षी तथा अन्तर सरकारी निकाय र अन्य सुरक्षा निकायसँगको सहकार्यमा सीमा अपराध रोकथाम, शान्ति व्यवस्था कायम र अति सम्बेदनशील मानिएको कपिलवस्तुमा हरेक वर्ष हुने ‘पर्व–दंगा’ रोक्न महत्वपूर्ण भुमिका खेलेका थिए । यसवर्ष कपिलवस्तुमा धार्मिक कारणले हुने दंगा शुन्य बनाउन एसपी कार्कीको भुमिका महत्वपूर्ण रहेको भन्दै गृहमा समेत चर्चा हुने गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको देशभर रहेका ४४ गुल्ममध्ये अति विकट र जोखिमपूर्ण स्थानमा रहेको तेह्रथुमको म्याङलुङस्थित ३ नम्बर गुल्म उत्कृष्ट भएको छ । यसका गुल्मपति डीएसपी नवराज तामाङले गुल्म मातहतको क्षेत्रमा शान्ति सुरक्षा, विपतमा उद्धार र अन्य गतिविधीलाई बलको म्याण्डेट अनुसार अघि बढाउँदै उत्कृष्ट कार्यसम्पादन गरेकाले पुरस्कृत गरिएको हो ।
सशस्त्र प्रहरीका देशभर दक्षिण र उत्तर भारत तथा चीन सीमाक्षेत्रमा रहेका १२९ बीओपीमध्ये झापाको टाघनडुब्बास्थित बोर्डर आउट पोस्ट उत्कृष्ट भएको छ । यसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको उत्कृष्ट कार्यसम्पादनका लागि बीओपीलाई पुरस्कृत गरिएको हो ।
प्रतिक्रिया