प्रधानमन्त्री देउवाले सुरुवात गरे ‘प्रथम कमाण्ड समन्वयात्मक बैठक २०७८’
प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् ।
सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम, मध्य र पूर्वी तथा उपत्यका गरि चार कमाण्डको संरचनामा गएको छ ।
समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्नेछन् ।
प्रधानमन्त्री देउवाले बैठकलाई सम्बोधनगर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको रणनैतिक तहमा सञ्चालन हुने यस किसिमका अन्तर्क्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्ने बताए ।
उनले सम्बन्धित विषयहरुमा साझा बुझाई निर्माण हुनुका साथै बिश्लेषण गरिएका चुनौतीहरुको सामना गर्न समय–सान्दर्भिक प्रतिकारात्मक उपायहरुको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत ब्यक्त गरे ।
उनले नेपाली सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न नेपाल सरकारको हरसम्भव प्रयास रहने समेत जानकारी बैठकमा गराएका थिए ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरस पालना गर्न कटिबद्ध रहेको बताए ।
उनले सेनालाई प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहनेछ भन्ने विश्वास व्यक्त गर्दै देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको बताए ।
प्रधानसेनापति शर्माले त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराएका छन् ।
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्बर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजनाहरु, मूलतस् नेपाली सेनाको दीर्घकालिन सोच–२०८७ तथा पुनर्संरचनाका कार्यहरुको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजिकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको बताएका थिए ।
यही कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधान सेनापति र रक्षा सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो ।
सेनाले यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास लिएको जनाएको छ ।
बैठकमा प्रधानसेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पिएसओज रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया