Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । 

 

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो पोस्ट हटाइसकेको पर्दाफासलाई जानकारी दिए । ‘कोरोना संक्रमण बढेपछि सीमा आउजाउ गर्नेको परीक्षण गर्न एसएसबीले केही दिनअघि अस्थायी पोस्ट बनाएको रहेछ,’ उनले भने, ‘जानकारी आउनेबित्तिकै विभिन्न चरणमा छलफल पोस्ट सार्न लगाएका छौं ।’

 

प्रशासनले पोस्ट बनाएको थाहा पाएपछि भारतीय अधिकारीसँग सशस्त्र प्रहरीमार्फत विभिन्न चरणमा छलफल गरेको थियो । त्यसपछि एसएसबी दसगजा क्षेत्रबाट पछि हट्न मानेको थियो ।

 

‘दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई उल्लंघन नगर्न पनि भारतीय पक्षलाई आग्रह गरेका छौं,’ प्रजिअ दाहालले भने ।

 

दसगजा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै एसएबीले विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीको बीचमा उक्त पोस्ट बनाएको थियो । पोस्टमा २४ घण्टा नै हतियारसहितका एसएसबीका जवान बस्न थालेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै