Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

सेना र प्रहरीबाटै मानवअधिकार उल्लंघन र गैरन्यायिक हत्या : ह्युमन राइट्स

दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ । 

 

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमजोर रहेको जनाएको हो । 

 

दुई साताअघि सार्वजनिक प्रतिवेदनमा राज्यका सुरक्षा निकाय प्रहरी र सेनाबाट नै मानवअधिकार उल्लंघन, गैरन्यायिक हत्या र यातनाका कारण हिरासतमा मृत्युका घटना भएको जनाइएको छ । यस्ता घटनाहरुको खासै जाँच नहुने र जाँच भइहालेमा पनि दोषी पक्राउ नपर्ने समस्या रहेको उक्त संस्थाले जनाएको छ ।

 

प्रतिवेदनमा उदाहरणस्वरुप चितवनको राष्ट्रिय निकुञ्जमा सेनाको नियन्त्रणमा राजकुमार चेपाङको मृत्यु, सेनाकै एक सिपाहीलाई हतियार चोरीको आरोपमा यातना र जेलसजाय, मानवअधिकारकर्मी रुबी खानलाई बहुविवाहको आरोपमा हिरासतमा राख्ने र सर्वोच्चबाट बन्दीप्रत्यक्षीकरणको आदेश हुँदा पनि उनलाई रिहा गर्न आलटाल गर्ने जस्ता घटना उल्लेख गरिएको छ । 

 

‘यस अवधिमा प्रहरी र सेनाद्वारा मानवअधिकार उल्लंघन गर्ने क्रम जारी छ । गैरन्यायिक हत्या र यातनाका कारणले हिरासतमा मृत्युका घटना बढेका छन् । तर, यसमा संलग्नमाथि विरलै जाँच भएको छ । जाँच भए पनि आरोपित पक्राउ परेका छैनन्,’ प्रतिवेदनमा भनिएको छ । 

 

प्रतिवेदनमा कोरोना महामारीको दोस्रो लहरमा सरकारको असफलताका कारण नेपालमा संक्रमणका कारण धेरै व्यक्तिको ज्यान गएको उल्लेख छ । यदि स्वास्थ्य सेवामा बेलैमै पर्याप्त र समान पहुँच भएको भए यसको रोकथाम गर्न सकिने प्रतिवेदनमा भनिएको छ ।

 

गत असार अन्त्यमा नयाँ सरकार बने पनि त्यसयता ३ महिनासम्म स्वास्थ्यमन्त्री नियुक्त हुन नसक्नुले पनि नेपालमा स्वास्थ्य क्षेत्रमा लापरबाही कतिको छ भन्ने छर्लंग देखाउने प्रतिवेदनमा जनाइएको छ । कोरोना महमारीको दोस्रो लहरमा नेपालमा ६ हजारभन्दा बढीको ज्यान गएको थियो ।

 

जातीय भेदभाव र छुवाछुत (अपराध र सजाय) ऐन लागू भए पनि दलितहरूमाथि हुने जातीय हिंसा र भेदभावको घटनामा विरलै छानबिन वा अभियोग चलाइएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले यसका लागि मे २३, २०२० मा भएका जातीय हत्याका दुई प्रतिकात्मक घटनाहरू उल्लेख गरेको छ,  जसमा अझै कारवाही हुन बाँकी छ । 

 

‘रुपन्देहीमा एउटी १२ वर्षीया दलित बालिकालाई आफैलाई बलात्कार गर्नेसँग जबरजस्ती विवाह गरेको एक दिनपछि उनको हत्या भएको थियो भने दोस्रो, रुकुम पश्चिम जिल्लामा एक दलित युवा अर्की प्रेमिकासँग बिहे गर्न आएपछि ६ जनाको हत्या भएको थियो,’ प्रतिवेदनमा भनिएको छ ।

 

हालै सार्वजनिक ह्युमन राइट्स वाचको ३२ औं वार्षिक प्रतिवेदनमा १०० भन्दा बढी देशको मानवअधिकारको अवस्था विश्लेषण गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै