प्रहरीसमेत संलग्न गिरोहको कथा : लागुऔषध र हातहतियार किन्न डिल गराउने, पछि लुट्ने
पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् ।
उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न आउने व्यक्तिहरूलाई भारतको रक्सौल लगी सम्बन्धित कारोबारीहरूसँग सम्पर्क गराई खरिद गराउँथे ।
त्यसपछि ओसारपसार गर्न सहयोग गरी कमिशन लिन्थे र पछि लुटपाट गरेर फेरि भारतमै ती सामग्री बेच्थे । रौतहट घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेशप्रसाद यादव पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अन्य पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय राजु रानामगर, पर्साका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह छन् ।
प्रहरीका अनुसार लालबाबुको टोलीले रानामगर र काठमाडौंका राम प्रजापतिलाई लुटेपछि घटना बाहिर आएको हो । गत बुधबार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै राजु रानामगरलाई पक्राउ गरिएको थियो । उनको साथबाट ‘सनमिका’ लेखेको स्वचालित पेस्तोल एक थान र म्याग्जिन २ थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानमा काठमाडौंतिर बस्दै आएका अर्का लागुऔषध कारोबारी राम प्रजापतिले सोही दिन भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल डेढ लाख रुपैयाँमा खरिद गरेका थिए । त्यसको डिल लालबाबुले गराइदिएका थिए । पहिलो लटमा एउटा पेस्तोल र २ थान म्याग्जिन तथा लागुऔषध डाइजिपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फिनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल, निट्राभेट १२ सय ट्याब्लेट ल्याई प्रजापति वीरगन्ज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए ।
तर, लालबाबुको गिरोहले उनको पेस्तोल र लागुऔषध लुटेपछि घटना बाहिर आएको हो । उक्त गिरोहले चारवटा मोबाइल, राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा २ थान र ७ हजार रुपैयाँ लुटपाट गरेका थिए । पहिलो लटको सामग्री चोरी भएपछि रानामगर दोस्रो लटको पेस्तोल लिन जाँदा प्रहरीको फन्दामा परेपछि घटना बाहिर आएको थियो ।
उनीहरुलाई शुक्रबार वीरगन्जका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट पेस्तोल, म्याग्जिन, लागूऔषध लगायतका वस्तु बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । साथै, उनीहरुलाई हातहतियार तथा संगठित अपराध मुद्दामा अनुसनधान भइरहेको छ ।
प्रतिक्रिया