प्रदेश १ प्रहरीद्वारा ६ महिनामा ३३१४ मुद्दा दर्ता, १८ करोडभन्दा बढी राजस्व संकलन
प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ४ सय १७ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । ५ सय ३६ वर्ष कैद भुक्तान भई १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ पनि प्रदेश प्रहरीले उल्लेख्य सफलता हासिल गरेको प्रदेश १ का प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । उनका अनुसार यस अवधिमा १ हजार १६४ ग्राम लागूऔषध ब्राउनसुगर र ३३६.३१२ केजी गाँजा बरामद भएको छ ।
यसैगरी विभिन्न मनोद्दिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट र सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्दिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी अवैध रुपमा सामान चोरी निकासी गर्ने ८० जनालाई पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजस्व संकलन भएको छ । नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ११९ जना र ५४० वटा सवारीसाधनलाई नियन्त्रणमा लिनुका साथै ३७ लाख ७५ हजार ७२० राजस्व संकलन गरेको कार्यालयको तथ्यांक छ ।
कार्यालयले अवैध काठ चोरी निकासी गर्ने ३६ जना पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजस्व संकलन भएको छ ।
प्रतिक्रिया