३७ वर्षअघि नेपालबाट हराएको मुर्ति आज अमेरिकाबाट फिर्ता ल्याइँदै
३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ ।
पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो ।
उक्त मूर्ति कार्गो मार्फत आइतबार नै न्युयोर्कबाट कतार एयरवेजमार्फत उडिसकेको छ । आज अपराह्न काठमाडौं आइपुग्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।
नेपालबाट चोरिएको प्रमाणित भएपछि गत नोभेम्बर ३० मै यो मूर्तिलाई म्युजियमले स्थानीय प्रहरीलाई हन्तान्तरण गरेको थियो । प्रहरीले दुई महिनाअघि वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको थियो ।
७० केजीको वासुदेव–कमलाजा मूर्तिलाई ल्याउने खर्च ललितपुर महानगरपालिकाले ब्यहोर्ने घोषणा गरेको थियो । तर नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालयसँग छलफल गरेपछि अमेरिकी सरकारले नै आफ्नो खर्चमा उक्त मुर्ति पठाइदिन लागेको हो ।
यो मुर्ति सन् १८८४ मा चोरी भएको थियो । जसको बायाँतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । कसरी वासुदेव–कमलाजा मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने अहिलेसम्म पत्ता लगेको छैन् ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले मूर्तिलाई साबिककै मन्दिरमा क्षमापूजा र बाजागाजाको स्वागतसहित पुर्नस्थापना गरिने जानकारी दिए ।
प्रतिक्रिया