छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।
उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।
विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी सदस्यद्वय बालेन्द्र रुपाखेती र डा. रवि शर्म अर्यालको संयुक्त इजलासले २१ असोजमा पन्थीलाई दोषी ठहर गरेको हो । आयोगले २३ माघ २०७५ मा पन्थीविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्रिपुरेश्वर कार्यालयमा दर्ता रहेको एक स्कुलको कर तिर्न जाँदा पन्थीले छुट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिएकी थिईन । यसबारे सूचना पाएपछि उनलाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो ।
उनले घुसबापतको रकम लिई छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवैजनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङ्गबाट नियन्त्रणमा लिएको थियो ।
पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।
प्रतिक्रिया