आफूलाई कमजोर नठानी आँट गरे अगाडि बढ्न सकिन्छ : असिम बानियाँ (अन्तर्वार्ता)

यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षे अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी (बख्तरबन्द गाडी) चलाउने अवसर आएको छ । र, त्यो अवसर पाएकी छिन् नेपाली सेनाकी प्युठ असिम बानियाँले । उनी नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । हाल पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिमरत बानियाँले कसरी एपीसी चलाउन थालिन् ? यस्तो त उनीसँगको अन्तर्वार्ता :

तपाईंको परिचय दिनुहोस् न ?

म नं. १३ वाहिनी अड्डा लगनखेलमा कार्यरत प्युठ असिम बानियाँ हुँ । म ललितपुर भैंसीपाटी–२ मा जन्मेकी हुँ । मलाई सानैदेखि नेपाली सेना मन पर्ने भएकाले सैनिक बन्ने रहर थियो । नेपाली सेनामा गएर देशका लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । तयसैले म आफ्नै स्वेच्छाले २०६२ पुस १० गते नेपाली सेनामा प्रवेश गरेको हो । हाम्रो परिवारमा सबैभन्दा पहिले नेपाली सेनामा प्रवेश गर्ने व्यक्ति म नै हुँ ।

सेनामा रहेर पनि सवारी चालक बन्ने अवसर कसरी जुर्यो ?

सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएको हो । खास गरी हाम्रो युनिटमै ड्राइभिङ कोर्षहरु खुलिरहने भएकोले गर्दा मैले पनि ड्राइभिङ तालिम गरी लाइसेन्स लिने अवसर पाउन सजिलो भयो । सुरुमा लाइट ड्राइभिङ लाइसेन्स लिएर युनिटमा गाडी चलाउन थालें । त्यसपछि मेरो कामको मूल्यांकन गरेरै हुनुपर्छ, युटिनले मलाई हेभी ड्राइभिङ र पछि एपीसी ड्राइभिङको तालिममा पठायो ।

एपीसी ड्राइभिङ तालिम गर्ने मौका कसरी पाउनुभयो ?

एपीसी विशेष खालको सवारीसाधन भएको हुँदा यो तालिमको लागि योग्य हुन विभिन्न शर्तहरु तोकिएको छ । जस्तो कि लाइट ड्राइभिङ तालिम गरेको, हेभी ड्राइभिङ तालिम गरेको र लाइसेन्स प्राप्त भएको हुनु्पर्छ भने उमेर ३५ वर्ष ननाघेको हुनुपर्छ । उक्त शर्तहरु मैले पूरा गरिसकेको थिएँ । त्यसैले पनि मलाई युनिटले छनोट गरेर यो तालिम गर्ने अवसर दिएको हो ।

त्यसो त, एउटी महिला सैनिक भएको नाताले पनि यो तालिम गर्न सक्छु कि सक्दिनँ होला भनेर सुरुमा आँट्न सकिनँ । तर हाम्रो निमित्त वाहिनीपति महासेनानी पुरुषोत्तम खड्काले तिमीले सक्छौं, पछाडि नहट भनेर हौसला दिनुभयो । युनिटका अरु पुरुष सहकर्मीहअरुले पनि त्यस्तै आँट दिनुभयो । अनि मैले तालिम गर्ने निर्णय गरें । तालिम पूरा गरेर अहिले शान्ति सेनामा समेत एपीसी चालकको रुपमा खटिने अवसर पनि पाउँदा खुसी छु ।

एपीसी कस्तो खालको सवारीसाधन हो र यसको तालिम कस्तो हुन्छ ? 
एपीसी ड्राइभिङ तालिम नं. १७ वाहिनी अड्डा अन्तर्गतको नं. १, २, ३ गुल्महरुमा गराइन्छ । एपीसीको तालिम ७ हप्ता अर्थात् ५२ दिनको हुन्छ । यो तािलम गरेको प्रमाणपत्रलाई आधार मानेर एपीसी चलाउन पाइन्छ । विशेष गरी एपीसी लडाइँको मैदानमा जाने भेहिकल हो । यो स्मल आम्र्स हतियारबाट क्षति नपुग्ने एउटा आरमोर पर्सनल भेहिकल हो ।

प्यासेन्जरभन्दा पनि यसमा लडाकु फौजहरु बोकिन्छ । यसमा एउटा ड्राइभर हुन्छ, त्यसको साइडमा कमाण्डर, एपीसीको टर्नरमा (माथि) एउटा गनर हुन्छ । त्यसको पछाडि लडाइँमा उत्रिने ९ जना फौजहरु गरी जम्मा १२ जनालाई बोकिन्छ । एपीसी ड्राइभिङ नेपाली सेनामा मात्र सञ्चालन हुन्छ, यसको छुट्टै लाइसेन्स हुँदैन । यसको ७ हप्ताको तालिम हुन्छ ।

विशेष गरी लडाइँको समयमा मुभ हुने भेहिकल भएकोले गर्दा यसको तालिम नेपाली सेनाले सञ्चालन गर्ने गर्दछ । योग्यता पुगेका सैनिकहरुलाई नेपाली सेनाले आवश्यकताअनुसार एपीसी सिक्ने मौका प्रदान गर्दछ ।

 

 

एपीसी तालिम गर्दा तपाईंले कस्तो अनुभव गर्नुभयो ?

तालिमको सुरुसुरुमा हाम्रा प्रशिक्षकहरुले गाडी चलाउनुहुन्थ्यो । म हेरिरहेको हुन्थें । ओहो ! यस्तो गाडी मैले चलाउन सक्छु होला र जस्तो पनि लाग्थ्यो । अनि मनमनै ‘त्यही सक्छु भनेर त आएको हो, सकिहाल्छु नि’ भन्ने आँट पनि आउँथ्यो । म खुसी पनि थिएँ, डराएको पनि थिएँ । जब तालिमको दौरान पहिलोपटक ड्राइभिङ सिटमा बसें, अलि धेरै नै नर्भस भएँ । एपीसीको बाहिरबाट हेर्दा त कोही थिएन, भित्र गइसकेपछि त सबै मेसिनरी सामानहरु मात्रै । मलाई त सानोसानो कुनै एउटा फ्याक्ट्रीभित्र छिरेको जस्तो अनुभव भयो ।

त्यसमा भएका ड्यास बोर्डहरु, जुन हामीले पढको थियौं । त्यहाँ गइसकेपछि ड्यास बोर्डहरु हेरें । सम्हालिँदै स्टेरिङ समातें । गुरुजीले सिकाउनु भएअनुसार सबै गरें । हामीले तालिमको दौरान सिकेका सबै चिजहरु त्यही थिए, मैले चलाउन थालें । मलाई सजिलो भयो किनभने सबै कुरा कक्षामा समावेश गरिसकेको थियो । विश्वारै आत्मविश्वास बढ्दै गयो ।

नेपाली सेनाको तर्फबाट पहिलो महिला एपीसी चालकको रुपमा शान्ति सेनामा सहभागी हुँदै हुनुहुन्छ, कस्तो महसुस गरिरहनु भएको छ ?

म पहिलोपटक २०६९ सालमा युनामी किर्कुट मिसनमा सैनिक प्रहरीका रुपमा शान्ति सेनामा खटिएको थिएँ । अहिले फरक भूमिकामा जाँदै छु । मलाई एकदम गौरव लागेको छ । नेपाली सेनाको एपीसी ट्रेडबाट मिसन जान पाउँदा मलाई धेरै खुसी लागेको छ । अझ मैले नेपालमा मात्र नभएर नेपाली सेनाको प्रतिनिधित्व गर्दै मिसनमा गएर एपीसी चलाउन पाउँदा मलाई गर्व लागेको छ । म आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्न दृढ छु ।

एउटा महिला सैनिकको हैसियतले सहकर्मी पुरुष तथा महिला सैनिकहरुलाई के भन्न चाहनुहुन्छ ?

अहिले नेपाली सेनामा धेरै महिला सैनिकहरु कार्यरत हुनुहुन्छ । उहााहरुलाई सबै सहकर्मीहरुले साथ दिइरहनु भएकै छ । भविष्यमा समेत अझै साथ सहयोग गर्दै जानुहोला भन्न चाहन्छु । यसैगरी महिला सैनिकहरुलाई पुरुष सरह सबै काम गर्न सक्छ । आफूलाई कमजोर नठानी आँट गर्न र अगाडि बढ्न अनुरोध गर्दछु । संयोगवश मैले नेपाली सेनाको तर्फबाट एपीसी चालकको रुपमा खटिने पहिलो महिला सैनिक बन्ने अवसर पाएँ । मलाई यो अवसर प्रदान गर्न मेरो युनिट, युनिटका सहकर्मी र युनिट कमाण्डरको उत्तिकै हात छ ।

सबै महिला सैनिकहरुलाई मलाई जस्तै सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछु । सबैको सहयोगले म पहिलो महिला सैनिक एपीसी चालक बन्न पाएँ, यस्ता कैयौं क्षेत्रले अझै हाम्रा महिला सैनिकहरुलाई पर्खिरहेको छ । त्यो अवसरको सदुपयोग गर्नुहोस् भन्न चाहन्छु ।

(नेपाली सेनाको सिपाही पाक्षिकबाट) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *