चीनको ‘ढुलमुले’ व्यापारिक नीतिले सुनसान बने सीमाबजार र व्यापार

नेपाल-चीन जनस्तर सम्बन्ध चिसियो

साढे ३ वर्षअघि आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङले चीन र नेपालबीच बहुआयामिक सम्पर्क सञ्जाल निर्माणमा जोड दिने बताए । उनको यो अभिव्यक्तिपछि नेपाली व्यवसायीमाझ केही उत्साह जगाएको थियो ।

विशेषगरी भूकम्पयता चीनसँगका सबै नाका ठप्पप्रायः हुँदा ठूला व्यवसायीमात्र नभएर सीमानजिकका साना पसल व्यवसाय गर्ने पनि संकटमा परेका थिए । चीनसँगको नाकानजिकका सधैं गुल्जार हुने बजार सुनसान भएका थिए । चिनियाँ राष्ट्रपतिको त्यो अभिव्यक्ति नाकाहरु पुरानै अवस्थामा फर्किने अपेक्षा गरे पनि अवस्था ज्यूँका त्यूँ रहँदा व्यवसायी निराश बनेका छन् ।

नेपाल र चीनबीच १४ सय १४ किलोमिटर लामो सीमारेखा छ, जहाँ विशेषगरी ६ वटा नाका सञ्चालनमा छन् । रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको हिल्सा, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङका र ताप्लेजुङको ओलाङचुङगोला (टिप्ताला) ।

तर, यथार्थमा भने रसुवागढी र तातोपानी मात्र आंशिक रुपमा सञ्चालनमा छन् । यीसहित चीनसँगका सबै नाका ८ वर्षयता ठप्पप्रायः छन् । चीनले विभिन्न कारण देखाउँदै अघोषित ‘नाकाबन्दी’ लगाउँदा त्यहाँबाट सामान आयात गर्ने ठूला व्यवसायी धराशयी बनेका छन् ।

कुनै बेला चहलपहल हुने तातोपानी बजार ८ वर्षयता सुनसान छ । भूकम्पपछि चीनले नाका बन्द र आवतजावत रोकेपछि यहाँका व्यवसायी विस्थापित नै हुनुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले पर्दाफासलाई बताए । ‘भूकम्पअघि नाका सञ्चालनमा थियो । आन्तरिक पर्यटक पनि तातोपानी नुहाउन, खासा घुम्न र सीमावर्ती बजारमा सस्तोमा सामान किन्न भन्दै आउँथे । अहिले सबै ठप्प भएको छ । व्यवसायीहरु पलायन भएर कोही विदेश गएका छन्, कोही काठमाडौं छिरेका छन्,’ उनले भने ।

तातोपानीलाई चीनका सहरसँग जोड्ने छोटो नाकाको रुपमा चिनिन्छ । त्यहाँबाट खासा बोर्डरसम्म सामान आउन ८–१० दिन लाग्छ भने काठमाडौंसम्म आइपुग्न थप ३–४ दिन लाग्छ । तर, त्यही सामान भारतका बन्दरगाह हुँदै ल्याउन महिनौं लाग्छ । अध्यक्ष बस्नेतले नाका पूर्णरुपमा सञ्चालन नहुँदा करिब दुई हजार आसपासका ट्रक चालक, सहचालक, तातोपानीका हजारौं व्यवसायीको रोजगारी गुमेको छ । नाकालाई पूर्णरुपमा र दुईतर्फी सञ्चालन गर्न संघले बेलाबेलामा ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । गत १८ वैशाख नाका सञ्चालन सहज रुपमा हुने जनाइए पनि अवस्था फेरि उस्तै रहेको अध्यक्ष बस्नेतले बताए ।

चीनसँगको अर्को प्रमुख नाका रसुवागढीको अवस्था पनि तातोपानीको भन्दा फरक छैन । नाका नजिकको बजार रसुवागढीको अवस्था सुध्रिन नसकेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष केसाङ निर्पु तामाङले बताए । ‘भूकम्पअघि रसुवागढीमा निकै चहलपहल भयो, बीचमा नाकामा भएको अवरोधले यसको बजार र व्यवसायमा पनि असर पुग्यो,’ उनले भने, ‘अहिले नाका सञ्चालनले केही सहज भए पनि अवस्थामा सुधार हुन सकेको छैन । पहिले रसुवागढीमा राखिने मालवाहक कन्टेरन केरुङतर्फ राखिने गरिएको छ । त्यसैले यहाँको व्यवसाय उठ्न सकेको छैन ।’

समुद्री तहदेखि पाँच हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, टिपताला नाकामा चीनले निर्माण गरेको संरचना ।

ताप्लेजुङको टिप्ताला नेपालतर्फका स्थानीयसँगको दैनिकीसँग जोडिएको झनै महत्वपूर्ण नाका हो । सडक सञ्चालले नजोडिए पनि यहाँका स्थानीयले चौँरीबाट चीनतर्फ सामान ढुवानी गर्ने र त्यताबाट नून, चामल, गेडागुडी, तेल, लत्ताकपडा लगायत उपभोग्य सामग्री आयात हुने गरेको थियो । कोभिडयता नाका ठप्प हुँदा स्थानीयले महँगो मूल्यमा सदरमुकामबाट सामान ल्याएर उपभोग गर्नुपरेको छ ।

ताप्लेजुङका उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले टिप्तालाबाट ठूलो व्यापारिक कारोबार नभए पनि स्थानीयलाई भने मर्का परेको बताए । उनका अनुसार यहाँ चीनतर्फ जोड्न सडक निर्माण भइरहेको छ । थापाले नाका खुलाउनका लागि स्थानीय जनप्रतिनिधिले सरकारसमक्ष आवाज उठाइरहेको बताए पनि हालसम्म सुनुवाइ नभएको पर्दाफासलाई जानकारी दिए ।

स्थानीय कारोबार जोडिएको पश्चिमको अर्को नाका हुम्लाको हिल्सा भने हालसालै सञ्चालनमा आएको छ । कोभिडयता ठप्प भएको यो नाका विशेषगरी मानसरोवर यात्राका लागि चर्चित थियो । तर, भूकम्पयता मानसरोवर जाने भारतीयलगायत पर्यटक घटे, कोभिडपछि चीनले नाका बन्द गरिँदा पर्यटक आउनै ठप्प भयो ।

तिनै पर्यटकलाई लक्षित गरी होटलहरुमा गरिएको करोडौं लगानी पनि जोखिममा परेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल लामाले बताए । ‘नाका बन्द भएपछि स्थानीयदेखि व्यवसायी सबैलाई असर पुग्यो, नजिकका बजार पनि सुके, स्थानीयको उत्पादन नै निर्यात हुन सकेन, चीनबाट आयात पनि ठप्प हुँदा जीवनस्तर कष्टपूर्ण बनेको थियो,’ उनले पर्दाफासलाई भने, ‘अब अवस्था अलि सहज होला भन्ने अपेक्षा छ ।’ उनले नाकालाई व्यावसायिक बनाउन पूर्वाधार निर्माण जोड दिन सरकारलाई आग्रह गरे ।

चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । ‘निर्यात ठप्पप्रायः छ, आयात पनि फाट्टफुट्ट भइरहेको छ,’ तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले भने । निर्यातका लागि खुले पनि आंशिक भइरहेको उनको भनाइ छ ।

उनका अनुसार पहिला खासासम्मका लागि खाद्यान्न तथा तरकारी र सतुवालगायत जडीबुटीसमेत निकासी हुँदा नेपालीलाई राम्रो आम्दानीको स्रोत थियो । अहिले नेपाली व्यापारीले खासाबाट सिल्क कम्पनीमार्फत नेपालतर्फ दैनिक ६–७ कन्टेनरमार्फत स्याउ, लसुन तथा लत्ताकपडालगायत सामग्री मितेरी पुलसम्म ल्याउन पाउँछन् । बैठकमा व्यापारीले खासासम्म आफूहरू जान दिनुपर्ने चिनियाँ पक्षसँग माग गरे पनि उनीहरू सकारात्मक नभएको सिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन् ।

चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड रुपैयाँ तातोपानी भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ उठेको छ । भूकम्पअघि वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको कारोबार तातोपानी भन्सार बाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब छ अर्ब रुपैयाँ राजस्व उठाउने गरेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

रसुवागढी नाका हुँदै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ अर्ब ८४ करोड ८४ लाख ५४ हजार बराबरको सामान आयात भएको छ । यसबाट भन्सारले ३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा ३० अर्ब ९९ करोड ६३ लाख ५३ हजार बराबरको सामान आयात भएको थियो । यसबाट भन्सारले ७ अर्ब १७ करोड ६३ लाख ९० हजार राजस्व संकलन गरेको थियो । भन्सार विभागले आर्थिक वर्ष ०७९/८० का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ ।

विगतमा चीनले एकतर्फी रुपमा नाकाबन्दी गर्दा करोडौं रुपैयाँ नोक्सानी भएको व्यवसायीले बताएका छन् । चीनबाट खरिद गरेका सामान सीमा क्षेत्रमै अलपत्र पर्ने गरेको र सड्नेगल्ने सामानदेखि लत्ताकपडा बिग्रिएर व्यवसायीले ठूलो नोक्सानी खेप्नुपरेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । व्यवसायीका अनुसार पछिल्लो समय उत्तरी नाकामा देखिएको समस्याका कारण चिनियाँ सामान पनि पानीजहाजबाट भारतको कोलकाता नाका हुँदै ल्याउने गरिएको छ ।

नेपाल–चीन नाकामा सहजता ल्याउन माग गर्दै व्यवसायीले पटकपटक सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष रामहरी कार्कीले बताए । ‘नाकामा समस्या आएपछि व्यवसायीले नै कम र अलि चाँडै नै सामान अर्डर गर्न थालेका छन् । दुई साताभित्र नै आयात हुने सामान दुई चार महिना लाग्न थालेको छ । यसका कारण कतिपय व्यवसायीले कोलकाता हुँदै ल्याउँदै ढुवानी पनि महँगिएको छ,’ कार्कीले भने, ‘व्यवसायीको मुख्य माग नै उत्तरी नाका पहिलेजस्तै सहज रुपमा चल्नुपर्छ भन्ने हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *