अन्नपूर्ण आधारशिविरमा पर्यटकीय सम्भावनाको खोजी

बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्किएका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएको छ । नर्थ अन्नपूर्ण आधारशिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि पदयात्रा गर्दै आधार शिविर पुगेका हुन् ।

समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधारशिविरसम्म पुगेको सो टोलीले नर्थ अन्नपूर्ण आधारशिविर पदयात्राका लागि सुरक्षित र उत्कृष्ट गन्तव्यका रुपमा रहेको निष्कर्ष निकालेको छ । नारच्याङ हुँदै आधारशिविर पुग्ने पदयात्राको अवधि छोट्टिएको सूचना पाएपछि ७४ वर्षिय बेरी आफ्नो कम्पनीका नेपाल प्रतिनिधिको साथमा आफैँ पदयात्रा गर्दै आधारशिविर पुगेका थिए ।

नेपालका अन्य धेरै हिमाली पर्यटकीय ठाउँहरूमा पुगी सकेका उनले नर्थ अन्नपूर्ण पदयात्रा सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए । ‘हामी यहाँ यदयात्राका लागि पर्यटक पठाउन कति सम्भव छ भनेर खोजी गर्न आएका थियौँ, यति छोटो दूरीको पदयात्रापछि नै हिमालको फेदीमा पुग्न सकिन्छ भनेर सोचेका पनि थिएनौँ, साँच्चीकै हामी अचम्मित भएका छौँ,’ बेलायतका पर्यटन व्यवसायी बेरीले भने ।

बेरीको पर्यटन व्यवसायीकै टोलीमा सहभागी माउण्टेन लेजेन्ट प्रालिका प्रतिनिधि शेषकान्त शर्माले हिमालका प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएकाले पनि यो पदमार्गको ऐतिहासिक महत्व खोज्दै विदेशी पर्यटकहरु आउन इच्छुक रहेको बताए ।

‘आधारशिविर पुग्ने पदमार्ग पनि सुरक्षित रहेछ, आधार शिविर पुगेपछि पनि प्रशस्त समथर फाँट भएकाले प्राकृतिक विपत्तीकोसमेत कम जोखिम देखिन्छ, यो ठाउँको मनोरम प्राकृतिक दृश्यको प्रचारप्रसार भयो भने यहाँ पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ । सोहीअनुसारका पर्यटन पूर्वाधारको तयारीमा जुट्नुपर्ने देखिन्छ,’ शर्माले भने। उनले पदमार्गमा होटल सुविधा विस्तार गर्न आवश्यक रहेको बताए ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधारशिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।

सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीसमेत यस क्षेत्रको प्रवर्द्धनमा जुटेका छन् । अन्नपूर्ण प्रवेशद्वारका रुपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचन, राजु हमाललगायतको टोलीलेसमेत स्थलगतरुपमा आधारशिविर क्षेत्रसम्म पुगेर पर्यटन सम्भावनाको खोजी गरेका हुन् ।

तातोपानीमा पर्यटकहरूको लागि होटल सञ्चालन गर्दै आएका शेरचनले यात्रा अवधि छोटो दूरीमा भएकाले यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्जोगले आरोहणका लागि आधारशिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । पदमार्गलगायतको पूर्वाधारहरूको निर्माण भएपछि गाउँपालिकाले पदमार्ग र आधार शिविरको प्रवर्द्धन अभियान थालेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए। उनले यस क्षेत्रको प्रचारप्रसार तथा थप पर्यटन पूर्वाधार बनाउन पालिकाले आवश्यक पहल थालिसकेको जानकारी दिए ।

नर्थ अन्नपूर्ण हिमालको आधारशिविर पुग्न मुस्ताङको टुकुचे हुँदै नारच्याङको भुसकेटमेला निस्कने परम्परागत बाटो जोखिमपूर्ण भएपछि नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाइमा २०६८ सालमा स्थानीयकासीको टोलीले चार दिन लगाएर आधारशिविर पुगेपछि अहिलेको पदमार्गको पहिचान भएको थियो । स्थानीय १५ जनाको टोलीले ६२ ठाउँमा अस्थायी साँघु बनाउँदै खोला वारपार गर्दै आधारशिविर पुगेर फर्किएका थिए ।

सन् २००५ मा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग हेलिकप्टरमार्फत नारच्याङ आएर यो पदमार्गको विकासमा चासो राखेपछि स्थानीयबासीले सक्रियता बढाएका थिए । २०६७ सालमा अन्नपूर्ण आधार शिविरसहित भुरुङतातोपानी र रुप्से झरनालाई प्रचारप्रसारका लागि अन्नपूर्ण तातोपानी रुप्से महोत्सवसमेत आयोजना गरियो । पछि पर्यटन मन्त्रालयमार्फत बजेट विनियोजन हुन थालेपछि नारच्याङ गाउँदेखि छोटेपा हुँदै हुमखोला क्षेत्रमा पैदलमार्ग बनाउन सुरु गरिएको थियो । अहिले जलविद्युत् कम्पनीले यस क्षेत्रमा सडकको पहुँच पुर्‍याइसकेका छन् ।

विसं २०७६ मा गाउँपालिकाले नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत आयोजना गरेको थियो । अहिले अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण आधारशिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले पटक–पटक गरेर दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले ४० लाख रुपैयाँ बढी लगानी गरिसकेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए।

पदमार्गअन्तर्गत आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, संधिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भइसकेको छ । आधारशिविर, भुसकेटमेला र गुफाफाँटमा थप आश्रयस्थल बनाउन स्थानीयबासीले माग गरेका छन् ।

अन्नपूर्ण आधारशिविर अन्य आधार शिविरभन्दा समथर भागमा रहेको छ । वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड तालमा आकासे नीलो रंगको पानीको दृष्यले पर्यटकहरूलाई लोभ्याउने गर्छ ।

आधारशिविरमा पुगेपछि पर्यटकहरूले एकै ठाउँबाट फन्को मारेर दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न पाउँछन् । आफ्नै शिरमा हिमाल देख्न पाउँदा पर्यटकहरू फुरुङ्ग हुन्छन् । पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउँछन् । आधारशिविरकै पञ्चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ ।

यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकाशे गुफा समेत पर्यटकको आकर्षणका रुपमा रहेको सुवेदीले जानकारी दिए । यस पदमार्गको हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पर्यटकको थप आकर्षण हो । नेपालमा मात्रै पाइने रैथाने गुराँसको प्रजातिका रुपमा रहेको गुराँसको फूल पदमार्गको दायाँबायाँका पाखामा प्रशस्त मात्रामा भेटिन्छन् ।

पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख विरुवासँगै यार्सागुम्बालगायतका जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायतका बन्यजन्तु र पंक्षीहरुहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताउँछन् । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिने अवस्था बनेको र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले प्रचारप्रसार र थप पूर्वाधार निर्माणमा पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिए ।

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा देशका विभिन्न ठाउँबाट अवलोकन र भ्रमणको लागि आउनेहरू बढेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा होटल, खानेपानी, सञ्चार र शौचालयको अभाव छ । यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहे पनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तको सामग्री आफैँ बोकेर लैजानुपर्ने बाध्यता छ ।

पदमार्ग, आश्रयस्थललगायतका पूर्वाधार निर्माणसँगै आधारशिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको अवस्थामा आधारशिविर क्षेत्रमा खानेपानी र शौचालयको अभाव रहेको नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामीले बताए। पर्यटकको आपतकालीन आश्रयका लागि आश्रयस्थलसम्म निर्माण भएको भए पनि पर्यटक पाल राखेर बस्ने मुख्य आधारशिविरमा खानेपानी र शौचालयको अभाव रहेको उनको भनाइ छ ।

आश्रयस्थल रहेको आधारशिविर नजिकै रहेको पञ्चकुण्ड तालकै पानीलाई मुख्य आधारशिविरमा बोकेर पुर्‍याउने गरिएको छ । आरोहणका लागि आउने पर्यटकहरुलाई पालमा राखेर बन्दोबस्त मिलाउँदै आएका सेभेन समिट ट्रेक्सका रवि तामाङले दैनिक रुपमा एक घण्टा लगाएर तालबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले यस आधारशिविर र पदमार्गको अर्को मुख्य समस्या सञ्चारको पहुँच नभएको बताए ।

पदमार्गको हुमखोला क्षेत्रसम्म सञ्चारको पहुँच भए पनि त्यहाँदेखि आधारशिविरसम्म नै कुनै पनि सञ्चारको पहुँच छैन् । आपतविपतमा समेत सूचना प्रवाह गराउन घण्टौँ पैदल हिँडेर मोबाइल फोन लाग्ने ठाउँसम्म पुग्नुपर्ने बाध्यता रहेको पदप्रदर्शकहरु बताउँछन् ।

पदमार्गअन्तर्गत रहेको फुतफुते झरना नजिकको झोलुङ्गे पुल जीर्ण बनेको छ भने रातोझरना र आधारशिविरको पञ्चकुण्ड तालको पानी बगेर बनेको मिस्त्रीखोलामा झोलुङ्गे पुल बनाउन आवश्यक छ ।

पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउँछन् । आधारशिविरकै पञ्चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ । -कमल खत्री/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर