चिया-कफी खेती प्रवर्द्धनमा खाेटाङका स्थानीय तह

दश स्थानीय तह रहेको खाेटाङका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरेका छन्। लेकाली भेगमा खाली रहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरूको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवर्द्धनका कार्यक्रम लागू गरेका हुन्।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरूवा निःशुल्क वितरण गरेको छ। पाँच वर्षभित्र पाँच लाख कफीको बिरूवा पुर्‍याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ।

प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए।

‘जिल्लामा कफीको माग धेरै बढेर गएको पाइएको छ। कफीमा अहिले वार्षिक २० करोड रूपैयाँभन्दा बढी पुँजी पलायन हुन्छ। अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने नगरपालिकाको लक्ष्य छ,’ उनले भने, ‘कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरूवा किसानलाई वितरण गरेका छौँ। आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ। नगरपालिकाले निःशुल्क बिरूवा उपलब्ध गराएपछि किसान पनि उत्साहित बनेका छन्।’

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ। वडा-६, छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरूवा रोपेको छ।

सुम्निमा पारूहाङ पार्क (उद्यान) समेत रहेको उक्त डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्छ। आगामी दिनमा आन्तरिक पर्यटक वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन सुरूवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए।

जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन्।

यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले पछिल्ला वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ। केपिलासगढी गाउँपालिका-१, फेदीमा पनि चियाका बिरूवा धमाधम रोप्न थालिएको छ। जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यस वर्ष दुई लाख चियाका बिरूवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिए।

फेदीमा गत वर्षदेखि व्यावसायिक चिया खोती सुरू गरिएको गाउँपालिकाले जनाएको छ। चिया खेतीबाट व्यावसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरूवा रोप्ने काम सुरू गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए।

फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्देलगायत ठाउँमा प्राविधिक टोलीसहितले चियाका बिरूवा रोप्ने काम गरिरहेका छन्। फेदीमा व्यावसायिक चिया उत्पादनका लागि दुईवटा किसान समूहसमेत गठन गरिएको छ।

साकेला गाउँपालिका-३, खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यावसायिक चिया खेती सुरू गरिएको थियो। जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले यस वर्ष मात्रै सात हजार बिरूवा रोपेको छ।

पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगान हेरचाह गर्न कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ। चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले जानकारी दिइन्।

खोटेहाङ गाउँपालिका-२, वाप्लुखास्थित कपासेभञ्ज्याङमा पनि व्यावसायिक चिया खेती सुरू गरिएको छ। टेम्के-थामडाँडा कृषि सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरूवा रोखिएको गाउँपालिकाले जनाएको छ।

जिल्लामा उत्पादित चिया तथा कफीलाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी तयारी गरिएको स्थानीय तहहरूले जनाएका छन्। एक लाख ५७ हजार तीन सय हेक्टर अर्थात् ४८ दशमलव ५८ हेक्टर क्षेत्रफल जमिन रहेको जिल्लामा खेतीयोग्य जमिन ६२ हजार तीन सय ६० दशमलव ०२ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर