पाकिस्तानमा बाढीको वितण्डा : अन्तर्राष्ट्रिय सहयोगका लागि प्रधानमन्त्रीकाे अपिल

पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रूपमा प्रभावित पारेको बताएका छन् ।

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् ।

उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको समाचारमा जनाइएको छ ।

बाढीका कारण विस्थापित भएका व्यक्तिको संख्या दशौं लाख भएकाले उनीहरूको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका छन् ।

पाकिस्तानका कैयौं प्रान्तमा बाढीले गरेको क्षति न्यूनीकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।

त्यसैले उनीहरूलाई राहत र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन् ।

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानमा गएको हप्तादेखि अविरल रूपमा वर्षा भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । त्यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् ।

पाकिस्तानी अधिकारीका अनुसार त्यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।

बाढी र पहिरोले सडक बगाएको, पशुचौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *