रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट
स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।
काठमाडौँमा आइतबारदेखि सुरुभएको तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए ।
समुद्र सतहदेखि ३,७०० मिटर उचाईमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिनेछ । ‘यो पहियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीब्रता दिनेछौँ र आगामि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ’ उनले भने ।
उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताए । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
प्रतिक्रिया